फिदिम : पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि पाँचथरमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धका उम्मेद्वारबिच कडा टक्कर हुने देखिएको छ ।
प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई गरी जम्मा तीन जना प्रत्यक्षतर्फबाट निर्वाचित हुनेछन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र नेकपा एकाले र माओवादी केन्द्रको वाम गठबन्धका उम्मेद्वारबिच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
स्थानीय तहको चुनावमा प्राप्त मतलाई आधार मान्दा दुवै गठबन्धनका उम्मेद्वारलाई चुनाव जित्न फलामको चिउरा जस्तै भएको छ । वाम गठबन्धनबाट माओवादी केन्द्र र एमालेले संयुक्त रुपमा उम्मेद्वारी दिएका छन् । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका अन्य साना दलहरुको समर्थन छ ।
पाँचथरमा एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेका छन् । जसमध्ये फिदिम नगरपालिका र तीन वटा गाउँपालिका गरी चार वटा स्थानीय तह नेपाली कांग्रेसले जितेको थियो । तीन वटा गाउँपालिका एमाले र एउटा गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।
प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा निवर्तमान सांसद भिष्मराज आङ्देम्बे चुनावी मैदानमा छन् । वाम गठबन्धनबाट नेकपा एमालेका नेता तथा पुर्व सांसद बसन्त नेम्वाङ प्रतिनिधि सभा सदस्यका लागि आङ्देम्बेसँग भिड्दैछन् । प्रदेश सभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस सभापति नरेन्द्रकुमार केरुङ चुनावी मैदानमा छन् । केरुङलाई टक्कर दिन वाम गठबन्धनबाट एमाले नेता तथा निवर्तमान सांसद गणेश काम्वाङ मैदानमा छन् । संविधान सभाको दोस्रो चुनावमा पनि केरुङ र काम्वाङबिच प्रतिस्पर्धा भएको थियो । प्रदेश सभा ‘ख’ मा कांग्रेसका पुराना नेता सुरेन्द्रकुमार दाहाल चुनावी मैदानमा छन् । वाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका माओवादीका पोलिटव्युरो सदस्य इन्द्र आङ्बो (मौसम) प्रदेश सभा ‘ख’ मा दाहालसँग प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिनिधि सभाका उम्मेद्वार आङ्देम्बे र नेम्बाङलाई केन्द्रिय राजनीतिमा पहूँच राख्ने नेताको रुपमा हेरिन्छ । आङ्देम्बेलाई पार्टीभित्र सभापति शेरबहादुर देउवा लाइनका नेताको रुपमा चिनिन्छ भने नेम्वाङलाई एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्रको रुपमा हेर्ने गरिन्छ । दुई ठूला पार्टीका प्रमुखको विश्वासपात्रको पहिचान बनाएका आङ्देम्बे र नेम्वाङ्को चुनावी भिडन्त निकै रोचक र खतरनाक हुने पाँचथरका बासिन्दाको अनुमान छ । ‘दुवै नेता पहुँचवाल नेता हुन्,’ फिदिमका देवी न्यौपानेले भने, ‘चुनाव जित्नका लागि दुवै नेताले ठूलै शक्ति प्रयोग गर्छन्।’
यसअघिको चुनावमा आङ्देम्बे र नेम्बाङको कहिल्यै प्रतिस्पर्धा भएको थिएन । यसअघिसम्म दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरको क्षेत्र नं. २ बाट संविधान सभा सदस्यका लागि आङ्देम्बे निर्वाचित भएका थिए । नेम्वाङ पाँचथरका क्षेन नं. १ बाट २०४८ र २०५६ सालको संसदिय चुनानमा निर्वाचित भएका नेता हुन् । यसपटक प्रतिनिधि सभाका लागि पाँचथरबाट एउटै मात्र सिट भएपछि आङ्देम्बे र नेम्बाङको पहिलोपटक प्रतिस्पर्धा हुने भएको हो ।
प्रदेश सभा ‘क’ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका केरुङ र काम्वाङको संविधान सभाको दोस्रो चुनावमा प्रतिस्पर्धा भएको थियो । त्यसबखत बाम्बाङले केरुङलाई हराएका थिए । स्थानीय तहको चुनावमा यो क्षेत्रमा पर्ने फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकामा कांग्रेसले जितेकाले यसपटकको चुनावबाट आफू निर्वाचित हुने केरुङको दावी छ । ‘स्थानीय तहमा प्राप्त गरेको मतलाई हेर्दा माओवादी र एमालेका उम्मेद्वारले पाएको मत र कांग्रेसले पाएको मत बराबर छ,’ केरुङ भन्नुहुन्छ ‘यसपटक राप्रपा लगायत अन्य साना दलहरुको समर्थन कांग्रेसलाई भएकाले चुनाव जित्न सकिने आधार प्रयाप्त छन् ।’
यसपटकको चुनाव जित्न आफूलाई सजिलो भएको काम्वाङको दावी छ । माओवादीको साथ नपाउँदा पनि आफूले चुनाव जितेको र यसपटक माओवादीको साथ पाएकाले चुनाव जित्न सजिलो हुने उनको दावी छ । ‘यसपटक चुनाव जित्नलाई गाह्रो छैन,’ उनले भने, ‘वामपन्थिहरुको एकता नै चुनाव जित्ने आधार हो ।’
प्रदेश सभा ‘ख’ मा वाम गठबन्धनका इन्द्र आङ्बो (मौसम) र लोकतान्त्रिक गठबन्धनका सुरेन्द्र दाहाल पहिलोपटक चुनावी मैदानमा भिड्दैछन् । दाहाललाई यो क्षेत्रका पुराना नेताको रुपमा हेरिन्छ । आङ्बो क्षेत्र नंं. ‘क’ का बासिन्दा हुन् । स्थानीय बासिन्दाको आधारले दाहाललाई चुनाव जित्न सजिलो हुने केहीको अनुमान छ । दाहाल र आङ्बो क्षेत्रमा कांग्रेसले फाल्गुनन्द गाउँपालिका र तुम्बेवा गाउँपालिका जितेको थियो । एमालेले कुम्मायक र माओवादीले मिक्लाजुङ गाउँपालिका जितेको हो । चुनाव जित्नलाई गठबन्धनमा समाहित भएका नेता कार्यकर्ताको इमान्दारितामा भर पर्ने दुवै गठबन्धनका नेताहरुको ठहर छ । उज्यालोबाट