नयाँ बुलन्द
इलाम : आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा इलाममा ५१ जनाले चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम उम्मेद्वारको सूचीमा ५१ जनाको उम्मेदवारी कायम रहेको उल्लेख छ ।
प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा आठ जनाको एवं प्रदेशसभातर्फ (१) मा सात जना र (२) सात जना गरी २२ जनाको उम्मेद्वारी परेकोमा सबै उम्मेद्वारी कायम छ ।
त्यसैगरी प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर २ मा १० जनाको एवं प्रदेशसभातर्फ (१) मा सात जना र (२) मा १३ गरी ३० जनाको उम्मेद्वारी परेकोमा प्रदेशसभातर्फ (२) मा स्वतन्त्र उम्मेदवारी दिएका हर्कप्रसाद साँवाले उम्मेद्वारी फिर्ता लिएपछि २९ जनाको उम्मेदवारी कायम भएको छ । सोही क्षेत्रका स्वतन्त्र उम्मेद्वार डिपेन्द्र बस्नेतले पनि उमेद्वारी फिर्ता लिएनन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलामका दुबै क्षेत्रमा नेपाली कांग्रेस, बाम गठबन्धन (एमाले–माओवादी केन्द्र), राप्रपा, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, देशभक्त जनगणतान्त्रिक मोर्चा, ग्रीन पार्टी नेपाल नामका पार्टी र एक स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।














































