
नयाँ बुलन्द
झापा : किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन देशैभरि सार्वजनिक विदा दिन किरात धर्मावलम्वीहरुले माग गरेका छन् ।
सरकारले कातिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र विदा दिईने निर्णय भएपनि त्यस दिन देशैभरि सार्वजनिक विदा दिनु पर्ने किरात धर्म तथा साहित्य उत्थान संघले माग गरेका हुन् ।
संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुतिको सम्मान दिईसकेपछि महागुरुको जन्मजयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र लक्षित गरेर सार्वजनिक विदा दिनु उपयुक्त नभएको भन्दै देशैभरि सार्वजनिक विदाको व्यवस्था गर्न सरकारसंग माग गरे ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु जयन्तीका दिन सार्वजनिक विदाको घोषणा गरेका र मसिंर ३ गतेको मन्त्रीपरिषदको निर्णयले समेत हरेक बर्ष कार्तिक २५ गते महागुरुको जन्मजयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर सरकारद्धारा सार्वजनिक गरिएका विदाका दिनहरुको सूचीमा भने किराँत धर्मावलम्बीका लागि मात्रै भनि उल्लेख गरिएको छ ।
संघको विज्ञप्तीमा राष्ट्रिय विभूतिको जन्मजयन्तीमा कुनै एक सम्प्रदायका लागि मात्रै भनेर उल्लेख गरिनु नहुने भन्दै सरकारको ध्यानाकर्षण समेत गराईएको संघद्धारा जारी विज्ञप्तीमा उल्लेखछ ।
महागुरु जयन्ती मनाईदै
यसैवीच १३३ औ महागुरु फाल्गुनन्द जयन्ती दुई दिनसम्म दमकमा विशेष कार्यक्रमसहित मनाउने तयारी गरिएको संघले जनाएको छ । संघसहित किराँत साम्यो सुनुगेल थक्सुबा, महागुरु फाल्गुनन्द स्मारक संरक्षण समिति , महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान, किराँत युमा माङहिम , दमक २ र ५ किराँत साम्यो मिङसो माङहिम, पाँङमी चोक दमक लगायत करीब एक दर्जन संघ संस्थाको संयुक्त सह–आयोजनामा कार्तिक २४ र २५ गते विशेष महत्वका साथ महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउन तयारी गरिएको संघका सचिव संकल्प लिङदेनले जानकारी दिए ।






















































