नयाँ बुलन्द
झापा : झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा गोरक्षा महोत्सव आयोजना हुने भएको छ ।
गौमाताको संरक्षण र धाम विकासका सहयोग जुटाउन उद्देश्यले ११ दिने महोत्सव लगाउन तयारी गरिएको हो । महोत्सव यही कात्तिक २२ गतेदेखि शुरु भई मंसिर २ गते सञ्चालन हुने आयोजक मूल समितिका संयोजक प्रसाद सुब्बाले जानकारी दिए । सो गोरक्षा महोत्सवमा गौंकथा तथा अखण्ड हरिनाम संकिर्तन एवं श्रीराम कथाको कथाबाचन हुने छ ।
गोलोक गोवद्र्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजका अनुसार रु ४५ लाखको अनुमानित लागतमा महोत्सव आयोजना हुन लागेको हो ।पुराण सञ्चालनका लागि संस्थागत रुपमा जनकल्याण प्रतिष्ठान नेपाल, सताक्षीधाम विकास समिति र सत्य साई केन्द्र झिलझिलेका सबै सदस्यहरु पूराण आयोजक मूल समारोह समितिका सदस्य रहेका छन् । महोत्सव भव्य रुपमा सम्पन्न गर्न सञ्चार, आर्थिक, स्वागत, खानेपानी तथा सरसफाइ, पूर्वाधार निर्माण, आपूर्ति लगायतका उपसमिति पनि गठन गरिएको छ ।
महोत्सवमा वृन्दावनका व्यसाचार्य हरिप्रसाद शास्त्री, र युवा पण्डित कुबेर सुवेदीको प्रमुख वाचक रुपमा रहने छन् । महोत्सवमा अनन्तश्री विभुषित जगत गुरु स्वामी मोहनशरण देवाचार्य जी महाराज चतराधाम, अनन्त विभुषित स्वामी भागवताचार्य महाराज माईधार, वेदमूूर्ति परमादरणीय आचार्य मेदनीपति मिश्रा युके, अनन्तश्री विभुषित स्वामी विष्णु वल्लभानन्द हरिद्वार भारत, अनन्तश्री विभुषित सद्गुरुदेव स्वामी गोपालशरण देवाचार्य जी महाराज दिल्लीबाट आउने आयोजक समितिले जानकारी दिएको छ ।






















































