गौरादहमा कृषि क्याम्पस सञ्चालन हुदैं

नयाँ बुलन्द

झापा : झापाको गौरादहमा यसैवर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । तत्कालका लागि हाल कायम गौरादह बहुमुखी रहेका संरचनामानै कृषि क्याम्पस पनि सञ्चालन हुने जनाईएको छ ।

झापा क्षेत्र नं.६ का निवर्तमान सांसद दिपक कार्कीका अनुसार कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डीन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरिसकेका छन् । विश्वविद्यालयको टोलीले यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालन गर्ने जनाएको छ । कृषि क्याम्पसमा पहिलो वर्ष ५० जना विद्यार्थी भर्ना लिने तयारी सहित आवश्यक प्रकृया अघि बढाइएको छ ।

गौरादहमा कृषि क्याम्पस सञ्चालनका लागि सरकारले रु ३ करोड रुपैयाँ विनियोजन गरेको र सो मध्ये रु एक करोड रुपैयाँ विश्वविद्यालयको कृषि शाखा मातहतमा आएको जानकारी दिएको गौरादह नगरपालिका १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । कृषि क्याम्पस सञ्चालन हुने भएपछि स्थानीय किसान र विद्यार्थीहरु उत्साहित भएको नगरपालिकाका नगरप्रमुख रोहितकुमार शाह बताउछन् । उनले झापा कृषिका लागि प्रचुर सम्भावना रहेको भएपनि औपचारिक अध्ययन गर्ने शैक्षिक संस्था नहुँदा दक्ष जनशक्ति उत्पादन हुन नसकिएको जनाए ।

कृषि क्याम्पस सञ्चालनमा आएपछि गौरादह कृषि क्षेत्रको अध्ययन र अनुसन्धानका लागि पनि उपयुक्त स्थान बन्न सक्ने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार