
राम योङहाङ
इलाम : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलामका राजनैतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका छन् । बाम र लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुने इलाममा उम्मेद्वारको टुङगो लागेसँगै चुनावी सरगरमी बढेको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बाम गठबन्धन तथा कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) को लोकतान्त्रिक गठबन्धनले प्रत्यक्षतर्फका सबै उम्मेद्वारको अन्तिम नाम टुङ्गो लगाएका छन् । उम्मेद्वारको मनोनयन गर्ने अघिल्लो दिन (बुधबार) मात्र दलहरुले उम्मेद्वारको नामलाई अन्तिम रुप दिएका हुन् ।
एमाले स्थायी कमिटिको मंगलबार राती अबेरसम्म बसेको बैठकले प्रत्यक्षतर्फका सबै उम्मेद्वारको नाम टुङ्ग्याएको हो । कांग्रेस केन्द्रयि समितिले भने बुधबार दिउँसो मात्र उम्मेद्वार टुङ्ग्याएको हो ।
बाम गठबन्धनमा प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभाका चार क्षेत्रमध्ये प्रदेशसभाको एउटा माओवादीले र बाँकी सबैमा एमालेले पाएको छ । लोकतान्त्रिक गठबन्धनबाट भने जिल्लाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले उममेद्वार बनाएको छ ।
बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कांग्रेसका पूर्व क्षेत्रीय सभापति भूपेन्द्र कट्टेल चुनावी मैदानमा आउने भएका छन् । खनाल सो क्षेत्रबाट यसअघि चार पटक विजयी भइसकेका छन् ।
क्षेत्र नम्बर २ बाट पूर्व सभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्बाङलाई उम्मेद्वार बनाएको छ । नेम्बाङसँग कांग्रेसका पूर्व सांसद केशव थापा भिड्ने भएका छन् । नेम्बाङ र थापाको भिडन्त दोश्रो पटकको हुनेछ । यसअघि ०६४ को संविधानसभा निर्वाचनमा नेम्बाङसँग थापा पराजित भएका थिए ।
नेम्बाङ लगातार तीनपटक निर्वाचित भईसकेका छन् । उनी २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा विजयी भएका हुन् ।
यता प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ (१) मा एमालेका नेतृ खिनु लङवा लिम्बू र कांग्रेसका देवेन्द्रकुमार राई भिड्ने भएका छन् । १ (२) मा एमालेका काजीमान कागते र कांग्रेसका दुर्गा बरालबीच प्रतिष्पर्धा हुँदैछ । २ (१) मा एमाले जिल्ला अध्यक्ष रामबहादुर रानासँग कांग्रेसका डम्बर खड्काले प्रतिष्पर्धा गर्ने भएका छन् । २ (१) मा माओवादी केन्द्रका पोलिब्युरो सदस्य तथा जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रवण) र कांग्रेसका जिल्ला सचिव खगेन्द्र देवान चुनावी मैदानमा छन् ।
अन्य साना दलहरुले पनि सबै क्षेत्रमा उम्मेद्वार तय गरेका छन् । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ मा राजकुमार राई र २ मा कृष्ण पौड्याललाई चुनावी मैदानमा उतारेको छ । नयाँ शक्ति पार्टी नेपालले १ मा मानवीर लेप्चा र २ मा देवकुमार जवेगूलाई उम्मेद्वार बनाएको छ । सघीय लोकतान्त्रिक राष्टि मञ्चले १ मा दिपककुमार योङहाङ र २ मा दिलप्रसाद नेम्बाङलाई उम्मेद्वार बनाएको छ । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले क्षेत्र नम्बर २ मा पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वालाई तय गरेको छ ।
प्रदेशसभा सदस्यका लागि संघीय समाजवादी फोरमले निर्वाचन क्षेत्र नम्बर १ (१) मा श्यामबहादुर येक्तेन, १ (२) मा मणीप्रसाद लिम्बू, २ (१) मा लासाङ तामाङ र २ (२) मा दिलीप राईलाई उम्मेद्वार बनाएको छ । त्यस्तै नयाँ शक्तिले क्षेत्र नम्बर १ (१) मा हरीप्रसाद गुरुङ, १ (२) मा रामप्रसाद सञ्जेल, २ (१) मा लेखनाथ खनाल र २ (२) मा शेरबहादुर तामाङलाई उम्मेद्वार बनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ (१) टीबी गुरुङ, १ (२) होम यक्पाङदेन, २ (१) अम्बीका योङहाङ र २ (२) थाङसाङ लावती उम्मेद्वार बनाएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाइजेशन लागायतका दलहरुले भने प्रदेशसभा सदस्यका उम्मेद्वारहरु सावैजनिक गरको छैनन् ।






















































