इलामबाट ९६ करोड रुपैयाँको अदुवा निर्यात

नयाँ बुलन्द

इलाम : इलामबाट आर्थिक वर्ष २०७३/७४ मा ९६ करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्ला बाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांक अनुसार ९६ करोड ८४ लाख ३६ हजार रुपैयाँको अदुवा जिल्ला बाहिर निर्यात भएको हो । घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले जिल्लामा व्यावसायिक खेती हुन थालेको छ ।

किसानहरुले अदुवाको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भई राम्रो रकम समेत जिल्ला भित्रिन थालेको जिल्ला कृषि विकास कार्यलयका सूचना अधिकृत प्रकाशमणि काफ्लेले बताए  ।

जिल्लाबाट एक वर्षको अवधिमा २७ हजार पाँच सय ७० मेट्रिक टन अदुवा निर्यात भएको छ । यसवर्ष ९६ लाख ८४ हजार हेक्टर जमीनमा भएको अदुवा खेतीबाट ४५ हजार ९ सय ९४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । जुन गएको वर्षभन्दा १०० मेट्रिक टनले उत्पादन बढेको हो । अघिल्लो वर्ष ४५ हजार ८ सय ९४ मेट्रिक टन मात्रै उत्पादन भएको थियो ।

कुल उत्पादनको २६ प्रतिशत अदुवा मात्रै जिल्लाका बजारहरुमा खपत हुने गरेको छ ।  बिऊमा मात्र छ हजार ४६६ मेट्रिक टन अदुवा खपत हुन्छ । यो वर्ष एघार हजार ८५८ मेट्रिक टन अदुवा जिल्लाका किसान र उपभोक्ताले प्रयोग गरेका छन् ।

इलाममा उत्पादित अदुवा भारतीय बजारमा निर्भर छ । पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा पर्ने गरेका छन् । पछिल्लो समय रोगको संक्रमण बढेकाले अदुवा खेतीमा समस्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यलय इलामका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथा शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार