काठमाडौं : मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेसले घोषणा पत्र तयार गरेको छ । अबको १० बर्षभित्र भोकमरी हटाउने र भ्रष्टाचार निर्मुल पार्ने योजनासहितको घोषणा पत्र भोलि मंगलबार सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
कांग्रेसले घोषणापत्रमा नै एमाले–माओवादीको वाम गठबन्धनसँग कडा प्रतिष्पर्धा गर्न राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गर्ने उल्लेख छ । यस्तै अबको १० बर्षभित्र नेपाललाई विकसित, भ्रष्टाचार र भोकमरी मुक्त देश बनाउन ५ खर्ब रुपैयाँसम्मको विदेशी लगानी भित्र्याएर युवालाई स्वरोजगार बनाउने योजना नेपाली कांग्रेसले अगाडी सारेको छ ।
यस्तै काठमाडौं–मधेस जोड्न ४ देखि ६ लेनका १ हजार किलोमिटर लामा द्रुत मार्ग, ५ सय किलोमिटर भन्दा धेरै रेल्वे लाइन र पचास हजार किलोमिटर सडकलाई कालोपत्रे गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।
यस्तै सबै नेपालीको स्वास्थ्य बिमा गर्ने, जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने, १५ हजार मेगावट क्षमताको विजुली उत्पादन गर्ने, पाँच वटा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने र बार्षिक ३२ लाख पर्यटक भित्र्याएर ५० लाख नेपालीलाई प्रत्यक्ष रोजगारी दिने योजना कांग्रेसले आफ्नो घोषणापत्रमा समेटेको छ ।
यस्तै सबै नागरिकमा मोबाइल फोन र इन्टरनेटको पहुँच र्पुयाउने, सोह्र वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता खोल्न लगाउने, ७५ प्रतिशत नागरिकको आधुनिक, सुविधासम्पन्न र भूकम्पप्रतिरोधी घर भएको शहरमा बसोबास गराउने योजना पनि कांग्रेसको घोषणापत्रमा छ ।
उज्यालोबाट