मैले बोल्दा यो देशको नक्शा हल्लिन्छ (कविता)

धर्मेन्द्र नेम्बाङ

आँखाको ढकनिमा, क्षितिजमा, परिधिमा

।छु।हेर्छु।छ।

टाँगेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नक्शा

कुद्दै आएर शासकहरू बसेको थुप्रिनु । एउटा अतिरिक्त बैठक जस्तो

आफ्नो शासकीय जीवनको अतीत र भविष्यको लेखाजोखा

लेखाजोखाबाट सर्भेक्षण

दर्शकदीर्घा अथवा कचहरी नाटकमा म थपिएको छ

म अथवा नयाँ समय

माइनेट पक्रिनेवाला म

यहाँ म अथवा माइनेट बुक अथवा टिप्पणी कर्ता ।

 

दृष्य नं १ खुल्दा

आक्रमण हमला युद्ध । युद्ध हमला आक्रमण

नुवाकोट…..काठमाण्डौ….ललितपुर……भक्तपुर…..कीर्तिपुर….

….मकवानपुर….बाइसे….चौविसे….अरू अरू

मुख्य झलकहरू चलिरहनु

आवाजमा बन्दुकको, तोप पड्केको, सैनिक परेड

झिलिकझिलिक कुदिराखेको रङ्गमा रातोको विशेष नेतृत्व

रातोले पेलेको छ ।

 

म टिप्पणी गर्न शुरु गर्छु ।

यदि म पृथ्वीनारायण शाह भएको भए । अनेकीकरणको पक्षमा लड्ने थिएँ । कब्जा गरेको देशहरूलाई स्वायत्तता प्रदान गर्ने थिएँ । कम्ती सम्बद्धता केन्द्रमा राखेर अरू तत्तत् देशमा जिम्मा लगाउँने थिए । यो अनेकीकरण सिद्धान्तको लडाइँ हुने थियो । यसको अभ्यास गर्ने थिए ।

 

मैलै एति बोल्दैगर्दा पर्दामा देशको नक्शा हल्लिन्छ ।

हल्लिएको दृश्यपानमा

प्रशिक्षणमा बोल्नु पृथ्वीनारायण

सही गर्नु डाडाँकाडाँमा

कतिपय देशहरू सम्बन्धन लिन कुदेर आइपुग्नु

खोला खोल्सा नाघेर, खोला खोल्सा जस्तै लामबद्ध

डाडाँमा उक्लिनु । स्वस्वायत्तताको प्रमाणपत्र गोजिमा राख्दै फर्किनु ।

 

दृष्य नं. २ खुल्दा

विजयी अभियान दृष्यहरूमा पुग्नु काँगडा….सतलज….कुमाउ…गडवाल…टिस्टा..

अंग्रेजसँगको युद्धको झाँकिहरू, पराजित हुदै गएको नेपाल,

खिन्न हुनु योद्धाहरू बलभद्र कुवर…भक्ति थापा…अमरसिंह थापा…

सुगौलि सन्धि, खिन्न हुनु भीमसेन थापा

दरवारिया झैझगडा, रणेन्द्रको मृत्यु देखिनु

हेर्दाहेर्दै पर्दामा रातो रङ्ग मलिन हुँदै जानु ।

 

म आसनबाट उभिएर टिप्पणी थाल्छु ।

यदि म भीमसेन थापा भएको भए इन्डियासँग अनाक्रमणको सन्धि गर्ने थिए । भारतमा अंग्रेजलाई टिकाउन मद्दत गर्ने थिए । देशभित्र बहुदलिय प्रजातन्त्र लागु गर्ने थिए ।

 

मैले एति बोल्दाबोल्दै देशको नक्शा हल्लिन्छ ।

कहिले ठूलो कहिले सानो देखिनु देश

नागरिकहरूमा श्रम, सिप, मिहिनेत थपिनु

हलो, जुवा काँधमा बोकेर बारीमा हिडेकोहरू

कुटो कोदालो पाखुरामा बोकेर हिडेकोहरू

माथि डाँडामा हेर्नु

मोटो घाटोहरू दुब्लो पातलो

दुब्लो पातलोहरू मोटो घाटो देखिनु

भीमसेन थापा भाइभारदारहरू लिएर गाउँघरतिर हात हल्लाउँदै गर्नु

भाषण मच्चाउँनु झुपडि ताकेर

भीमसेन प्रथम निर्बाचित प्रधानमन्त्रीको सपथ लिदै गर्नु

रङ्गहरू किनारा किनारामा हलचल गरिबस्नु ।

 

दृष्य नं. ३ खुल्दा

आत्महत्यामा भीमसेन थापा, अरू हत्याहरू काटमारहरू

माथवरसिङ थापा..गगनसिङ भण्डारी…फत्तेजङ चौतारिया…दामोदर पाण्डे…

..विरकिशोर पाण्डे…रणजङ पाण्डे…अभिमान सिङ राना…अभिमानसिङ बस्नेत..अरूअरू

कोत हत्याकाण्ड, काटमारमा मान्छे चिच्याएको कहालिएको आवाज

लस्करै लासहरू आँगनभरि तन्किनु ।

रातो आलो रगतको नदि सुनसान बगिरहनु ।

 

म टिप्पणी गर्न शुरु गर्छु ।

यदि राजा राजेन्द्र म भएको भए । जंगवहादुर र राज्यलक्ष्मि दुवैलाई जेल चलान गर्ने थिए । भाइभारदारको हत्याको विश्लेषणमा विधिको शासन अगाडि बढाउँथे । संबैधानिक राजतन्त्र अगाडि राखेर अभ्यास गर्थे । सम्बिधान सभाको चुनाव गरेर सम्बिधान बनाउँथे ।

 

मैले एति बोल्दैगर्दा देशको नक्शा हल्लिन्छ ।

हल्एिकोमा

राजा…जनता कानुनको डोरिले बाँधिनु

राजा संसद भवन तिर फर्केर हिडिरहेको देखिनु

प्रक्रियाले आवतजावत गरिरहनु

जनताहरू संसद भवनतिर ताकेर कुदिरहनु ।

रङ्गहरू आफ्नै प्रणालिमा खेलिरहनु

 

दृष्य नं. ४ खुल्दा

कोत हत्याकाण्ड ….. श्री ३ को सपथ….राणा परिवारको रोलक्रम….

पारिवारिक हत्याकाण्ड……

राष्ट्रिय ढुकुटिमा राणा परिवारको किचनबाट जोडिएको पुल..

सुक्खा गाउँघर….ख्याउँटिएको जनताहरू….

चार शहिदको हत्याकाण्ड…..

हतोत्साही छ बाहिरतिरको रङ्ग ।

 

म टिप्पणी गर्न शुरु गर्छु

यदि म जंगवहादुर भएको भए । शक्तिको विकेन्द्रिकरण गरेर सत्ता सञ्चालन गर्ने थिए । चुनावी प्रक्रियामा देशलाई पुर्याउने थिए । राजगद्धि उत्तराधिकारी चरम विवादको व्याख्या गर्दै गणतन्त्रको घोषणा गर्ने थिए । ढुकुटीलाई शिक्षा, श्वास्थ, खानेपानी, उधोगमा प्रयोग गर्ने थिए ।

 

मैले एति बोल्दा बोल्दै देशको नक्शा हल्लिन्छ

हल्लिएकोमा राष्ट्रपतिको भोट माग्नजंगबहादुर गाउँ गाउँ कुद्दै गर्नु

कान्छि, जेठी रानी, सुरेन्द्र भोट खसाल्नु लाइनमा लाग्दै गर्नु

काठमाण्डु र गाउँघर बाटोले सिधै जोडिएको बन्नु

बाटोमा भीड ओहोर दोहोर गरिरहनु ।

 

दृष्य नं. ५ खुल्दा

चार शहिदहरू….सातसालको क्रान्ति….आम निर्बाचन…..प्रधानमन्त्रिको सपथ

जेल चलान…..भाषण…..सभा नारा जुलुस चलिरहनु ।

विभिन्न रङ्गमा

 

म टिप्पणी गर्न शुरु गर्छु

यदि म विपी कोइराला भएको भए । राजा महेन्द्रलाई साइजमा राख्ने थिए । गौतम बुद्धको दर्शनलाई राजनीतिमा मार्ग निर्देशक शिद्धान्तको रुपमा प्रयोग गर्ने थिए । विश्वव्यापि नेपाली दर्शनको विक्रिवितरण गर्ने थिए । यो दर्शनको मुल्य उपयोग गरेर विश्वको अघि एउटा समृद्ध शक्तिशालि राष्ट्र बनाएर देखाइदिने थिए । वि. सं. २०२५ साल जेठ १४ गते प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गर्दै राजनीतिबाट सन्यास लिएर कविता लेख्ने थिए ।

 

मैले एति बोल्दै गर्दा देशको नक्शा हल्लिन्छ

हल्लिएको दृष्यमा बिपी कोइरालाले विभिन्नतामा बुद्धको फोटो हस्तान्तरण गर्नु

देश इन्द्रेणी जस्तै खुल्नु

भूमिकाले विभिन्न जाति वर्गहरू मोटाउदै गर्नु

अराष्ट्रिय मन्चमा भाषण मच्चाइरहनु

केन्द्रमा बहुल रङ्ग चलमलाउँदै गर्नु ।

 

दृष्य नं. ६ खुल्दा

पन्चायतको घोषणा…..नेताहरू थुन्दा तालाचाबी ढोकामा मार्दै गरेको आवाज….

दललाई झटारो हानेर लखेटदै गरेको दृष्यहरू बग्नु….

सडकमा सैनिकहरू परेड खेल्नु….

जनताहरू सुक्तै जानु….गाउँघर मलिन देखिनु…

शोक मग्न रङ्गहरू…

 

म टिप्पणी गर्न शुरु गर्छु

यदि म राजा महेन्द्र भएको भए । नेपालको सीमा वरीपरि पर्खाल लगाउने थिए । पर्खालदेखि माथि तारजालि लगाउने थिए । अबैध कारोवार, अपराधिक गतिविधि रोक्ने थिए ।

 

मैले एति बोल्दैगर्दा देशको नक्शा हल्लिन्छ

हल्लिएको नक्शामा

सिमेन्ट, बालुवा, गिटि, इटा, तारजालि, रड मुछतै चलाउँनु

पर्खाल ढडिदै गएको दृष्य बन्नु

नागरिकहरू सहानुभूतिको हाँसो हाँस्नु ।

 

छवटा दृष्यहरू छन इतिहासको कुर्सी या देशको रंगमन्चमा । एउटा खाली बुद्धको हुनसक्छ । कुर्सी त्यागको नमुना । एक स्नेप फोटो खिच्छन । र कराउँछन ।

अब के हुन्छ ?

 

म टिप्पणीमा कराउँछु

मैले बोलिरहँदा यो देशको नक्शा यसरी नै हल्लिरहन्छ ।

इतिहासको समिक्षा गर्दा यो देशको भूगोल हल्लिरहन्छ ।

बरु कविता खेल्नु एएउटा

फेसबुकको शासक कवि समुहमा पठाउँनु

दर्शकहरूले आफै लाइक कमेन्ट चढाउँनु ।

 

(शीर्षक पृथ्वीनारायण शाहको मुक्तक

मैले बनायाको विसाल देश ख्वै ?

मैले विसायाको विशाल केश ख्वै ?

भन्नेहरू जे जे भनुन, अलि खोया विर्के चडाया हुँ

मैले चडायाको अलिकति शेष ख्वै ?

शीर्षक भीमसेन थापाको कविता

मलाई खदाउनेहरू हो

खेदिएर त हेर खेदिन कति गाह्रो छ ।

शीर्षक राजेन्द्रको गीत

वारी कान्छि पारी जेठी

बीचैमा परियो

शीर्षक जङ्गबहादुरको कथा

अग्रगमन प्रतिगमन मात्र हैन रैछ जिन्दगी

सुख सुविधा काम बासनाको भोग चलन पनि रैछ जिन्दगी

विपी कोइरालाको कविता

ए साथीहरू हो लागिदेऊ, कुदिदेऊ, कराई देऊ

मेरो विचारले यहाँ काम पाउनु पर्छ ।

शीर्षक महेन्द्रको गीत

प्रजातन्त्रको कुरा गर्नेहरूलाई लैलै

राखे मैले शुन्दरी जेलैमा)

 

कविहरूको सिर्जनात्मकतामा लाइक कमेन्ट उफ्रिरहन्छ ।

।आजलाई।मपनि।त्यहिफ्रिज।भइदिन्छु।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार