नयाँ बुलन्द
झापा : राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सचिवालय सदस्य प्रविण चाम्लिङ संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरम अन्तर्गत लिम्बुवान प्रदेश समितिले आइतबार झापाको दमकमा आयोजित कार्यक्रममा उनी संघीय फोरममा प्रवेश गरेका हुन् ।
चाम्लिङसहित विभिन्न दलका करिब तीन सय ५० जनाभन्दा बढी कार्यकर्ताहरू संघीय फोरममा प्रवेश गरेका छन् । उनीहरूलार्इ पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।
पार्टी प्रवेश गर्दै चाम्लिङले राप्रपाको सिद्धान्त आफैमा गलत नभए पनि नेतृत्व गर्नेहरु गलत भएकाले सही मुद्दा र नेतृत्व चयन गर्ने क्रममा संघीय फाेरम सही रहेकाले आफूहरु प्रवेश गरेका बताए ।
नवप्रवेशी प्रकाश सुवेदीले देशमा सबै जाति समुदायको अधिकार सुनिश्चित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने भएकाले रास्ट्रिय मुद्दा बोकेको पार्टीमा समाहित भएको जिकिर गरे ।
नवप्रवेशी पूरन राईले लिम्बुवान आन्दोलनमा लामो समय आन्दोलन गरे पनि नेतृत्व सही नभएकाले राजनीतिक भविष्य सुनिस्चित नदेखेर संघीयता र पहिचानको सही पहरेदार शक्ति ससफो नेपालमा प्रवेश गरेको बताए ।
राप्रपाबाट २ सय ३० बढी समाजवादीमा आएका हुन् भने लिम्बुवान मन्चबाट ४० बढी प्रवेश गरेका छन् । त्यस्तै नयाँ शक्ति, माओवादी केन्द्र, एमाले, लोकतान्त्रिक फोरम, कांग्रेस समर्थिथरु ससफो नेपालमा प्रवेश गरेका लिम्बुवान प्रदेश प्रचार विभाग प्रमुख कमन देवानले जानकारी दिए ।
राप्रपाबाट प्रवेश गर्ने अन्यमा शिक्षक परिसष केन्द्रीय सदस्य प्रकाश सुवेदी, युवक केन्द्रीय सदस्य एवम् झापा अध्यक्ष खेमबहादुर दाहाल, मजदुर केन्द्रीय सदस्य एवम् मेची अन्चल प्रमुख कुलबहादुर लामा (अनिल), युवक झापा जिल्ला सचिव दीपक न्यौपाने, विध्यार्थी केन्द्रीय उपाध्यक्ष राजिव शंखर, केन्द्रीय सदस्य राज बोगटी, झापा जिल्ला अध्यक्ष शुनिल राई लगायत छन् । त्यस्तै लिम्बुवान मन्चबाट केन्द्रीय सदस्य पूरन राई, बिक्रम लिम्बूलगायत थिए भने नयाँ शक्तिबाट स्थानीय निर्वाचनमा उम्मेद्वार बनेका गुड्डु जैसवाल लगायत प्रवेश गरेका हुन् ।
संविधान संशोधनको माग कायम छः यादव
सो क्रममा अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन रोक्ने दुस्प्रयास नगर्न चेतावनी दिएका छन् ।
यादवले भने, ‘अहिले सर्वोच्च अदालत गुहारेर केही शक्तिहरु निर्वाचन रोक्ने दुस्प्रयासमा लागेका छन् । मुलुक चुनावी माहोलमा प्रवेश गरिसकेको बेला निर्वाचन रोक्नु अपराध हो ।’
संघीय फोरमले संविधान स्वीकार नगरेको भन्दै यादवले संशोधन वा पूनर्लेखन कार्य गर्न पार्टीले राखेको माग कायमै रहेको जिकिर गरे । अब हुने निर्वाचनले प्रतिनिधिसभा र प्रदेशसभा गठन गर्ने भएकाले पेचिलो ढङ्गले संघीयता र पहिचानको मुद्दा उठान हुने भन्दै यादवले भने, ‘हामी निर्वाचनबाट जनतालाई समानता र शोषण विरुद्धको अभियानमा संलग्नता गराउने छौं ।’