पार्टी प्रवेश गराउन उपेन्द्र यादव दमक आउँदै

नयाँ बुलन्द

झापा : पछिल्लो समय संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको लहर चलेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलहरु परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको लर्को लागेको हो । मेचीदेखि महाकाली र मधेसदेखि हिमालसम्म पार्टी प्रवेश गर्ने बढेपछि नेताहरुलाई भ्याइ नभ्याइ हुन थालेको छ ।

यसै क्रममा आइतबार झापाको दमकमा विभिन्न पार्टो परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ । पार्टी प्रवेश गराउन अध्यक्ष उपेन्द्र यादव नै दमक आउने भएका छन् । यादवको उपस्थितिमा हुने पार्टी प्रवेशमा विभिन्न पार्टी छाडेर तीन सय बढी मानिस ससफो प्रवेश गर्न लागेको ससफो नेपाल, लिम्बुवान प्रदेश समितिका प्रचार विभाग प्रमुख कमन देवानले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गरेका बेला अध्यक्ष यादव दमक आउन लागेका हुन् । मधेसमा पार्टी प्रवेशको लहर बढिरहेका बेला झापामा पनि पछिल्लो समय ससफो नेपालले पार्टी विस्तारलाई तीव्रता दिएको हो ।

कार्यक्रमको आयोजना पार्टीको झापा जिल्ला समितिले गर्ने र व्यवस्थापन नगर समितिले गर्ने ससफो झापा अध्यक्ष धिरेन लावतीले बताए ।

सोही अवसरमा निर्वाचन अभियानको शुभारम्भ समेत उद्घाटन गर्नेछन् । अध्यक्ष यादवले झापा जिल्लाको निर्वाचन अभियानको उद्घाटन गरेसँगै जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा चुनावी अभियान प्रारम्भ हुने लावतीको भनाइ छ ।

भोलि हुने कार्यक्रमको आवश्यक तयारी सम्पूर्ण रूपमा पूरा भएको ससफो झापा सचिव सुशील राईले जानकारी दिएका छन् । बालक मृत्यु प्रकरणपछि मच्चिएको गोली कान्डले बिर्तामोडमा तनाव सिर्जना भएर कर्फ्यु जारी रहेकाले कार्यक्रमलाई आंशिक असर पर्न सक्ने सचिव राईले चिन्ता ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार