सतासी गोल्डकपको तयारी तीव्र

नयाँ बुलन्द

झापा : झापाको शिवसताक्षी नगरपालिकामा हुन लागेको दोस्रो सताक्षी गोल्डकपको तयारी तीब्र रुपमा भइरहेको छ । शिवसताक्षी नगरपालिका– ११ झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने खेलका लागि आयोजक समितिले खेल मैदान, प्याराफिट निर्माण लगायतका कामहरुलाई तिब्रता दिएको हो । झापाकै ठुलो पुरस्कार राशीको दोस्रो सताक्षी गोल्डकप कातिक २८ देखि मंसिर ७ गतेसम्म हुने आयोजक सतासी स्पोर्टिङ्ग क्लब झिलझिले जनाएको छ ।

तीन हप्तापछि हुने प्रतियोगिताका लागि खेल मैदान सम्याउने, झार काट्ने, स्प्रिङ्गकल गरी मैदानको झारलाई हरियो बनाउने काम भइसकेको आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए । उनका अनुसार आज शुक्रवारदेखि ५ हजार दर्शक बस्न सक्ने प्याराफिट निर्माण शुरु गर्न लागेको छ । प्रतियोगितामा भारतको एकसहित नेपालका ७ वटा ए डिभिजनका टिमहरु सहभागी हुने छन् ।

प्रतियोगिताका विजेताले नगद रु ५ लाख सहित ट्रफी, प्रमाण पत्र पाउने छन् । उपविजेताले रु २ लाख ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छन् । यसैगरी प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीहरुलाई नगद रु १० हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

सर्वाधिक गोलकर्ताले नगद रु २५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्ड, डिफेन्सलाई रु २० हजार नगद प्रदान गरिने आर्थिक संयोजक गणेश प्रधानले जानकारी दिए । त्यस्तै टुर्नामेन्ट अफ दि प्लेयरका विजेतालाई नगद रु ५० हजारले पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार