इलाममा कावेली प्रसारण लाइनको निर्माण कार्य ठप्प

फाइल तस्विर : इलामको सिद्धिथुम्का

सुजता सुनुवार

इलाम : इलाममा कावेली प्रसारण लाइनको निर्माण कार्य ठप्प भएको छ । स्थानीय बासिन्दाको अवरोधका कारण कोरीडोरको दोस्रो चरणको निर्माण कार्य ठप्प भएको हो ।

जिल्लाको सिद्धिथुम्काबासीले निर्माण हुदै गरेको प्रसारण लाइन आयोजना आफ्नो जग्गामा परेकाले आयोजना निर्माण गर्न नदिने अडान लिएका छन् । १३२ केभी प्रसारण लाइन भएको आयोजना कावेली कोरीडोरको दोस्रो चरणको निर्माण कार्य ठप्प भएपछि यो आयोजनाको निर्माण अनिश्चित भएको छ ।

आयोजनाले एकतर्फी रुपमा सर्भे गरी प्रसारण लाइन निर्माण गरेको सिद्धिथुम्काका स्थानीयबासीन्दाले बताएका छन् । उनीहरूले अब त्यो प्रसारण लाइन पहिले सर्भे गरिएको स्थान सिद्धिथुम्काको साविक वडा नम्बर ८ बाट नै लान आयोजनालाई भनेका छन् ।

आफ्नो जग्गा माथिबाट जवरजस्ती लाइन टाँग्न आँटिएकोले आफूले विरोध गरेको स्थानीय बासिन्दा भिम गजमेरले बताए । उनले भने, ‘पहिले सर्भे गरिएको स्थानबाट नै लगेर लाइनको निर्माण सम्पन्न गरियोस् ।’ यस्तै आफ्नो जग्गा विद्युतलाई दिएमा आफ्नो बास नै उठ्ने भएकाले निर्माणका लागी जग्गा नदिन बाध्य भएको स्थानीयबासीन्दा बुद्धमाया बराइलीले दुखेसो पोखिन् ।

बराइलीले मुख्य जग्गा पर्नेलाई खोज खबर नै नगरी आयोजनाले वरपरका मान्छेको सहमति लिएर निर्माणलाई अगाडि बढाएकाले आरोप लगाइन् । संघर्ष समितिका अध्यक्ष अगमसिंह मगरले आयोजनाले स्थानीयलाई पटकपटक झुक्याएर उचित क्षतिपुर्ति नदिएको गुनासो गरे । विश्व बैङ्कको व्यवस्थाअनुसार क्षतिपुर्ति मुआव्जा पाउनुपर्ने अध्यक्ष मगरको भनाई छ ।

उनले भने, ‘जिरिखिम्ति आयोजनाको जस्तो क्षतिपुर्ति पाएमा हामी आफ्नो जग्गा उपलव्ध गराउन मञ्जुर छौँ ।’ समस्या समाधान गर्नका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पटकपटक वार्ता भए पनि सहमति हुन नसकेपछि संघर्षमा उत्रिएको मगरले बताए ।

स्थानीय प्रशासनले चलन चल्तीको जग्गाको मुल्यमा ३० प्रतिशत बृद्धि गरी मुआब्जा उपलव्ध गराउन पहल गरका थिए । मुआब्जा पाँच प्रतिशतले मात्र बुझेका छन् ।
लाइनको निर्माणमा ढिलाइसँगै इलाम, पाँचथर, ताप्लेजुङमा उत्पादित विद्युत त्यसै खेर गइरहेको छ । ताप्लेजुङको शिवानी हाइड्रोबाट उत्पादित पाँच मेगावाट विद्युत र पाँचथरको हेवाखोलाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जान सकेको छैन ।

इलाम गोदकसम्म निर्माण सम्पन्न भएको कावेली कोरिडोर आयोजना मार्फत इलाममा उत्पादित विद्युत भने केन्द्रीय प्रशारण लाइनमा गएको छ । ‘अवरोधलेलाइन बन्न नसकेपछि ५÷६ मेगावाट विद्युत खेर गइरहेको छ । हामीले केन्द्रमा रिपोर्ट गर्ने हो । अरु के गर्नु र ।’ काबेली कोरीडोर १३२ के भी प्रसारण लाइन आयोजनाका आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले भने ।

उनले ३३ के भी प्रसारण लाइनले मेचीको उत्तर क्षेत्रबाट उत्पादित विद्युत प्रसारण गर्ने व्यवस्था मिलाइएकोसमेत जानकारी दिए । आयोजनाको दोस्रो चरण अन्तर्गत इलामको सोयाकदेखि पाँचथर अमरपुर खण्डमा ३० वटा टावर बन्न बाँकी रहेको द्विवेदीले बताए ।

सात वटा टावर निर्माण भइरहेको, एक टावर इलाम चमैतामा विवादका कारण बन्न नसकेको द्धिवेदीको भनाई छ । यस्तै इलाम सिद्धिथुम्कामा ११ वटा टावर बन्न बाँकी रहेको समेत जनाइएको छ ।

निर्माणमा ढिलाइ भएपछि आयोजनाको म्याद आगामी बैशाख १० सम्म पुनः थप गरिएको छ । यस अगाडि पनि निर्माण ढिलाइ हँुदा पटक पटक आयोजनाको म्याद थप हुँदै आएको थियो ।

एक वर्षअघि देखि सिद्धिथुम्कामा रहेको विवाद समाधान नभएपछि कावेली आयोजना निर्माण ठप्प नै रहेको छ । पटकपटक म्याद थप भए पनि सिद्धिथुम्कामा भएको स्थानीय अवरोधले निर्माण कार्य झनै बढी टाढा धकेलिने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार