नयाँ बुलन्द
मोरङ : मोरङको उर्लाबारीस्थित नमुना बाल गृहलाई दमक उद्योग वाणिज्य संघले करिव एक लाख मूल्य बराबरको विभिन्न राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ । संघले बालगृहमा नै पुगेर खाद्य,औषधीसहित लत्ताकपडाहरु वितरण गरेको हो ।
तिहारलगायतका चाडपर्वमा बाल गृहका बालबालिकाहरुलाई सहयोग पुर्याँउने उद्देश्यले दाल ,चामल, तेल, नुन, मैदा, चाउचाउ, विस्कुट ,औषधी र लत्ताकपडाहरु प्रदान गरिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिए ।
ती सहयोग सामाग्रीहरु दमक नगरपालिकाका उपप्रमुख गिता अधिकारी, संघका अध्यक्ष ढकाललगायतले बालगृहकी अध्यक्ष मिना बराललाई हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष ढकालले संघले व्यवसायीक हितसंगै सामाजिक कार्यमा समेत आफनो भूमिकालाई थप सक्रिय बनाउदै लैजाने बताएका थिए । उनले वालगृहको थप भवन निर्माणका लागि संघका तर्फबाट १ लाख रुपैया सहयोग पुर्याँउने प्रतिवद्धता जनाएका थिए । अध्यक्ष ढकालले तिहार अगावै झापाको शान्तिनगरमा पर्ने साधुटार विद्यालय, दमकको दिपीनी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई समेत विभिन्न शैक्षिकसहितका राहत सामाग्रीहरु वितरण गरिने जानकारी दिए ।
राहत हस्तान्तरण कार्यक्रममा बालगृहकी अध्यक्ष बरालले आश्रित बालबालिकाहरुको दैनिक व्यवस्थापनमा सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुन नसकेको गुनासो गरेकी थिईन् । उनले स्थानीय स्रोत र साधनबाट बालगृह सञ्चालन हुदै आएको भएपनि पछिल्ला समय अनाथ बालबालिकाहरु थपिने क्रम बढेसंगै दैनिक गुजारा धान्न समस्या बन्दै गएको वताईन् ।
महिला विकास तथा बालबालिका चेतना केन्द्रद्धारा सञ्चालित सो बालगृहमा अहिले ४६ जना बालबालिकाहरु आश्रित छन् । त्यस राहत हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले राखेका थिए भने सञ्चालन संघका सदस्य राजन दंगालले गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी,सदस्य तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।