नयाँ बुलन्द
झापा : काठमाण्डौंका मिलन लामा झापाको दमकमा आइतबार सम्पन्न सोह्र बर्ष मुनिको बुद्धिचाल प्रतियोगितामा नेपाल च्याम्पियन भएका छन् । उनी प्रतियोगिताभरी नै अपराजित रहे ।
अन्तिम राउण्डमा डाइनामिक चेस एकाडेमी दमक झापाका सुसन आचार्यसँग बराबरी खेल्दै उनी नेपाल च्याम्पियन भएका हुन् । उनको ६ अंक थियो । बराबरीमै चित्त बुझाएका आचार्य तेश्रो भए । पहिलो बोर्डमा खेलेका यी दुइ मध्ये च्याम्पियन बन्न अचार्यलाई जित आवश्यक थियो भने लामालाई बराबरी नै पर्याप्त थियो ।
त्यस्तै काठमाण्डौंका अद्नान मोहम्मद आदिललाई पाखा लगाउँदै काठमाण्डौंकै युवराज पौडेल दोश्रो भए । उनले ५.५ अंक जोडे । डाइनामिक चेस एकाडेमीका सक्षम भण्डारीलाई चित ख्वाएका बर्दियाका निशान्त श्रेष्ठ चौथो भए । उनले ५ अंक जोडे । समान ५ अंक नै भएपनि डाइनामिक चेस एकाडेमी दमकका समिर खड्का पाँचौ तथा काठमाण्डौंका दिपेन्द्र गमाल छैटौं भए ।
त्यस्तै ४.५ अंक जोडेका काठमाण्डौंका अद्नान मोहम्मद आदिल सातौं, समान अंक भएका डाइनामिक चेस एकाडेमी दमक झापाका लाक्पा दोर्जे तामाङ्ग आठौं तथा झापाकै केशब कुमार राजबंशी नौ औं हुँदा डाइनामिक चेस एकाडेमीकै सक्षम भण्डारी दश औं भए । त्यस्तै तेह्र बर्ष मुनिको उमेर समुहको उपाधि डाइनामिक चेस एकाडेमिका प्रज्वल बस्नेतले जिते भने दार्चुलाका विजय टमटा दोश्रो तथा धनुषाका प्रबेश लामा तेश्रो भए ।
उता गल्सतर्फको उपाधि भने डाइनामिक चेस एकाडेमी दमककी खुस्बु थापाले जितिन । प्रतियोगितामा अपराजित रहेकी उनले ४.५ अंक जोडिन् । सोहि एकाडेमीकी क्रिपा अधिकारी दोश्रो हुँदा झापाकै पुनम प्रसाई तेश्रो, डाइनामिक चेस एकाडेमीकी खुसी मुखिया चौथो तथा इलामकी आन्छा राई पाँचौ भए । प्रतियोगिताका च्याम्पियनले नगद सात हजारसँगै ट्रफी तथा मेडल प्राप्त गरे । त्यस्तै दोश्रो हुनेले नगद पाँच हजार , तेश्रोले नगद तीन हजार, चौथोले नगद दुई हजार,पाँचौ हुनेले नगद पन्ध्र सय प्राप्त गर्दा छैटौ देखी दशौं सम्मकाले नगद एक हजार र मेडल प्राप्त गरे ।
गल्सतर्फको च्याम्पियनले नगद पाँच हजार,ट्रफी तथा मेडल प्राप्त गरिन् । दोश्रो हुनेले नगद तीन हजार, तेश्रो हुनेले दुई हजार, चौथो हुनेले पन्ध्र सय र पाँचौ हुनेले एक हजार तथा मेडल प्राप्त गरे । प्रतियोगिताबाट खुल्लातर्फका शिर्ष चार र गल्स च्याम्पियन भारतको अहमदाबादमा हुने आगामी युथ ओलम्पियाडका लागि छनोट समेत भएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथी दमक नगरपालिकाका मेयर रोमनाथ ओली, दमक रनका संयोजक दिवस राई,नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुर गौतम,कोषाध्यक्ष ज्ञानेन्द्र पराजुली, ध्रुबतारा स्पोर्टिङ्ग क्लब दमकका अध्यक्ष भिमराज केसी, जिल्ला बुद्धिचाल संघ झापाका अध्यक्ष विजय सुब्बा, लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा अग्रज बुद्धिचाल खेलाडी देबराज गजमेरलाई डाइनामिक चेस एकाडेमीले नगद पाँच हजार सहित सम्मान समेत गरेको थियो ।