‘अन्तराष्ट्रिय झापाली समाजको सम्मेलन ऐतिहासिक बन्ने छ’

छत्र सुब्बा

छत्र सुब्बा, हङकङमा अवस्थित झापाली हङकङ मञ्चका अध्यक्ष हुन् । आधा दशकदेखि रोजगारीका क्रममा हङकङ पुगेका सुब्बा मञ्च मार्फत त्यहाँ रहेका झापालीहरुवीच परिचित संगै उनीहरुको सुखदुखमा सधै सक्रिय रहिआएका छन् । मञ्च मार्फत विभिन्न सामाजिक कार्यमा योगदान पुर्याँउदै आएको सो संस्था प्रवासी हङकङका झापालीहरुवीच लोकप्रिय समेत मानिन्छ ।
झापालीहरुको आस्थाको धरोहरका रुपमा स्थापित हुदै आएको सो मञ्च मार्फत उनी अन्तराष्ट्रिय झापाली समाजको प्रवक्ता चुनिएका छन् । दुई वर्ष अघि मात्र स्थापना भएको त्यस समाजमा अहिले विभिन्न १८ वटा देशका झापाली संस्थाहरुको प्रतिनिधीत्व छ । प्रवासमा रहेका झापालीहरुवीच समन्वय गरि आफनो क्षेत्रका हरेक गतिविधीहरुमा काम गर्ने उद्देश्यले गठित सो समाजलाई अन्तराष्ट्रिय सञ्जाल निर्माण गरेका हुन् । सो समाजको पहिलो अन्तराष्ट्रिय सम्मेलन यहि असोज २५ गते झापाको विर्तामोडमा तय गरिएको छ ।
उक्त तदर्थ समितिका प्रवक्ता सुब्बाले आसन्न अन्तराष्ट्रिय झापाली सम्मेलनले जिल्लाका लागि नयाँ कदम हुने विश्वास गर्छन् । ‘ सम्मेलन जिल्लाको हितमा मात्र सिमीत नभएर विश्वभरि छरिएर रहेका झापालीहरुवीचको सम्बन्धमा थप प्रगाढसंगै ऐतिहासिक वन्ने छ’ प्रवक्ता सुब्बा जोड दिन्छन् ।
प्रस्तुत छ, दमक–५ निवासी प्रवक्ता सुब्बासंग आसन्न झापाली अन्तराष्ट्रिय सम्मेलनका विषयमा गरिएको कुराकानी :

झापाली अन्तराष्ट्रिय समाजको सम्मेलनको तयारी कहाँ पुग्यो ?

झापाली अन्तराष्ट्रिय समाजको आसन्न अन्तराष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको छ । अन्तराष्ट्रिय सम्मेलनको आन्तरिक तयारी सम्बन्धी सवै काम अत्यन्त उत्साहका साथ हुदै आईरहेका छन् । प्रचारप्रसारदेखि सम्मेलनमा सहभागिताका लागि अतिथिहरुलाई निम्ता दिने काम लगभग पूरा भईसकेका छन् । विदेशबाट धमाधम प्रतिनिधी,पर्यवेक्षक साथीहरु आउने क्रम बढ्दै गएको छ । मूलतः , अन्तराष्ट्रिय सम्मेलनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक सवै तयारी अन्तिम चरणमा रहेको जानकारी गर्न चाहन्छु ।

अन्तराष्ट्रिय सम्मेलन किन आफनै जिल्लामा नै आयोजना गर्नुपर्यो ?

निश्चय पनि प्रवासमा क्रियाशील झापाली संघसंस्थाहरुको सक्रियतामा स्थापना गरिएको यस समाजलाई थप गतिशीलसंगै प्रभाबकारी ढंगले अघि बढाउनका लागि हामीले पहिलो पटक आफनै गृह जिल्लामा अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको सवैलाई विदितै छ । यो समाज एक सामाजिक संस्था भएको र जिल्लाको विकासमा केहि योगदान गर्न अभिप्रायले विदेशमा रहेका झापाली संस्थाहरुवीच यस सञ्जालको आवश्यकता महषुष गरेर आज अन्तराष्ट्रिय सम्मेलनको संघारमा उभिएका छौ ।

जहाँसम्म यस सम्मेलन आफनै जिल्लामा गर्न पनि किन चाहेका हौ भने , जति प्रवासमा झापालीहरु छौ ,आफनो ठाँउका विषयमा अन्तरसंवाद गर्न,भावना साटासाट गर्न तथा अन्य सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढ्न पनि यहि स्थल तय गरिएको हो । त्यससंगै चाडपर्वका मुखमा परिवार,साथीभाईहरुसंग भेटघाट पनि हुने र संस्थाको आपसी गन्थनमन्थन गरौ भनेर सम्मेलन डाकिएको हो । हामीलाई विश्वास छ, यस सम्मेलनले विश्वमा नै छरिएर रहेका प्रवासी झापालीहरुलाई सकरात्मक सन्देस दिने छ । सम्मेलनले झापाली प्रवासीहरुको विश्व सञ्जालको प्रभावकारीता र जिल्लाको दिगो विकासमा प्रवासी झापालीहरुको योगदानका विषयमा समेत कोसेढुङगा सावित हुनेमा हामी आशावादी छौ ।

१८ देशमा अन्तराष्ट्रिय सञ्जाल पुगेको छ भन्नुभयो, यसलाई किन र कसरी स्थापना गर्नुभयो ?

राम्रो जिज्ञासा राख्नुभयो । हामीले मूलत यस समाजलाई विशुद्ध आफनो जिल्लाको हितमा केन्द्रीत रहने लक्ष्यका साथ स्थापना गरेका हौ । विदेशमा बस्दै आएका धेरै झापाली संघसंस्थाहरुको समन्वयमा यस संस्थालाई यतिका अवस्थामा ल्याउन सफल भएका छौ । जहाँ जुन देशमा झापालीहरुका संस्था छन्, ती संस्थाहरुसंग समन्वय गरेर यस समाजलाई विश्व सञ्जाल बनाएका हौ । अहिलेसम्म यस समाजमा विभिन्न १८ वटा देशका क्रियाशील झापाली संस्थाहरुको प्रतिनिधीत्व भएको छ । हामीले सूचना प्रविधिको उपयोग गरेर यस समाजलाई सांगठानिक , कार्ययोजना बनाएर सञ्चालनमा ल्याएका छौ । खाडीदेखि पश्चिमा देशमा रहेका झापाली संस्थाहरु यस संस्थामा आवद्ध छन् । विश्वभरि छरिएर रहेका झापालीहरुवीच आपसी भाइचारासंगै जिल्लाका हरेक पक्षमा रचनात्मक भूमिकामा जोड दिन यस समाजलाई विस्तार गरिआएका छौ । राजनीति भन्दा माथि उठेर आफनो र जिल्लाका निम्तीनै योगदान दिन पनि हामीले यस संस्थाको बृहत लक्ष्य,उद्देश्य लिएर संस्थालाई सक्रिय बनाउने छौ ।

अन्तराष्ट्रिय सम्मेलनको व्यवस्थापन कस्तो छ ?

प्रवासमा बस्दैआएका झापालीहरुवीच आपसी भाइचारा र संगठित गरेर संस्था मार्फत जिल्लाको समग्र विकासमा टेवा दिन यस संस्थाको मूलमन्त्र ठानेका छौ । अहिले संस्थालाई विधान सम्मत अगाडी लैजानका लागि पनि हामी यतिखेर अन्तराष्ट्रिय झापाली सम्मेलनको संघारमा छौ । यस संस्थामा आवद्ध विश्वभरि रहेका प्रतिनिधीहरु धमाधम सम्मेलनमा सहभागि हुन कार्यक्रम स्थलमा आउने क्रम बढेको छ । करिव २ सय बढी प्रतिनिधी ,पर्यवेक्षकहरु सहभागि हुने सम्मेलनको तयारी व्यवस्थापन लगभग पूरा भईसकेको छ । प्रतिनिधीहरुका लागि आवासको व्यवस्थापन पनि पूरा भईसकेका छन् । संक्षेपमा भन्ने हो भने सम्मेलनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सवै तयारी सकिएका छन् ।

सम्मेलनबाट संस्थागत के अपेक्षा गर्न सकिएला ?

यस सम्मेलन निश्चय पनि संस्थागत ढाँचाले थप क्षमतावान र प्रगतिशिल बन्ने अपेक्षा लिएका छौ । किनकी तदर्थ समितिलाई विधान अनुसार थप परिस्कृत गर्न यस महाधिबेशन आफैमा कोसेढुङा सावित हुने छ । संस्थालाई संस्थागत संरचनामा विस्तार गर्न तथा लक्ष्य अनुरुप अगाडी लैजान हामीले यस महाधिबेशनले दिशानिर्देस गर्नेंछ भन्ने विश्वास लिएका छौ । महाधिबशनले भोलि यस समाजलाई थप मजवुत गर्न सघाँउ पुग्ने छ । यति मात्र नभएर महाधिबेशन आफैमा ऐतिहासिक बन्ने छ ,किनकी संस्थाको भोलिका सम्बृद्धिका निम्ति सहभागि प्रतिनिधीहरुवीच अन्तरकृया ,छलफल गर्ने छौ । यसले नेतृत्वमा आउने साथीहरुलाई उर्जा मिल्ने छ ।

संस्थामा नयाँ नेतृत्वको पनि चयन हुने छ ?

निश्चय पनि । यस महाधिबेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्ने छ । अहिलेको तदर्थ समितिलाई विधान बमोजिम नयाँ नेतृत्वमा रुपान्तरित हुने छ । संस्थाको नेतृत्वमा धेरै साथीहरुको आकांक्षा देखिएको छ । स्वभावले संस्थामा नेतृत्व प्रति आकांक्षा राख्नु लोकतान्त्रिक प्रकृया पनि हो भन्ने लाग्छ । महाधिबेशनको यस घडीमा मैले पनि संस्थाको अध्यक्षमा आफूलाई मनोनयन गरेको छु । संस्थामा बसेर काम गर्न मैले आफनो आकांक्षालाई उचित ठानेको छु । संस्थामा मलाई जुन जिम्मेवारी प्रदान गरिएको थियो,त्यसलाई गंभीर भएर जुन कार्यसम्पादन गरे,त्यसले पनि संस्थाको नेतृत्वमा मैले पनि आफनो उम्मेदवारी कायम राखेको छु । संस्थालाई सहमतिको आधारमा नयाँ नेतृत्व प्राप्त गर्ने छ भन्ने पनि ठानेका छौं । साथीहरुले संस्थामा सक्षम नेतृत्व चयन गर्नें छन् भन्ने अपेक्षा लिएको छु ।

नेतृत्व चयन सहमतिमा हुन्छ भन्न खोज्नुभएको हो ?

अवश्य पनि । हालको तदर्थ समिति मार्फत अधिबेशनको रुप दिएर त्यसलाई संस्थागत बनाउन केन्द्रीत छौ । नेतृत्व चयनको प्रकृयालाई मतदान भन्दा व्यवहारिक रुपमा सहमतिय नेतृत्व चयन गर्न हामी प्रतिवद्ध छौ । मतदानको प्रकृयाको वातावरण निर्माण हुनु राम्रो होइन् । किनकी यस संस्था भर्खर बामे सर्दें गएको अवस्था छ । सकेसम्म हामी सहमतिका साथ सक्षम र सवै क्षेत्रको समान प्रतिनिधीत्व हुने गरि कार्यसमिति चयन गर्नें छौ । हामीलाई थाहा छ, निर्वाचनमा मतदानको प्रकृयाबाट हुने परिणामले संस्थामा प्राविधिक समस्या जन्मने छन् । त्यसैले पनि हामी सहमतिलाई पन्छाएर कदापि निर्वाचनको वातावरण निर्माण हुन दिने छैनौं । आशा गरौ, अव यस संस्था सहमतिका साथ नयाँ नेतृत्व चयन हुने र झापाको सामाजिक, आर्थिक विकाससंगै अन्य समसामयिक मुद्याहरुमा हातेमालोका साथ काम गर्नें विविध योजनाहरुको खाका ल्याउने छ ।

यदि तपाई अध्यक्ष बन्नुभयो भने के गर्नुहुन्छ ?

महत्वपूर्ण जिज्ञासा राख्नुभयो । निश्चय पनि अव यस सस्ंथालाई स्थापना गर्नु मात्र उपलव्धि होइनन् भनेर बुझनु पर्छ । अव हाम्रो संस्थालाई जिल्लाको आशलाग्दो,विश्वासयोग्य संस्थाको रुपमा संगै प्रवासी झापालीहरुको भरोसाका रुपमा समेत यस संस्थाले आफनो परिचय दिनु पर्ने खाँचो देखिएको छ । अव नयाँ नेतृत्वमा अवसरसंगै कयौ चुनौतीहरु नयाँ नेतृत्वमा थपिएका छन् । यस संस्थालाई यहाँँसम्म ल्याउन धेरै अग्रज साथीहरुको महत्वपूर्ण देन छ । संस्थाको काममा दिनरात नभनि संस्थापक साथीहरुले तनमन धन दिएर पनि यहाँसम्म ल्याउन ठुलो योगदान दिनुभएको मैले यहाँ सम्झनै उचित ठानेको छु ।

जहाँसम्म यस संस्थाको भावी नेतृत्वको जिम्मेवारी पाए भने पक्कै यी यावत समस्यासंग जुध्न सक्ने रणनीति बनाएको छु । संस्थाको हितलाई सदैंव आत्मसात गर्नें छु । प्रवासमा रहेका सवै देशका झापालीहरुको एक मात्र आस्थाको रुपमा हाम्रो संस्था हो भन्ने नैतिक भावनाको विकास गर्नें कार्यक्रम ल्याउने छु । विश्व सञ्जाललाई थप बृहत गर्न जोड दिने छौ । जिल्ला भित्रका सामाजिक हित तथा परोपकारी कार्यमा संस्थालाई थोरबहुत जोड्ने काम गर्ने छौ । संस्थामा आवद्ध प्रवासी झापालीहरुवीच आपसी एकता,भाइचारा संगै सुखदुखको भावनात्मक सम्बन्ध बृद्धि गर्न संस्थाको आवश्यकतालाई विकास गर्न चुनौती ठानेका छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार