नयाँ बुलन्द
काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच चुनावी सहकार्य हुने पक्का भएको छ ।
शुक्रबार दुवै पार्टीका अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त वक्तव्य जारी गरेर चुनावी सहकार्यको घोषणा गरेका हुन् ।
जारी विज्ञप्तिमा आसन्न प्रतिनिधिसभा (संघीय संसद्) निर्वाचन र प्रदेशसभा निर्वाचनमा संयुक्त उम्मेद्वारी दिने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ –आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भई साझा उम्मेद्वारको रूपमा चुनावमा भाग लिने, उम्मेद्वारी दिने र अन्य राजनीतिक पार्टी÷दलहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नुपरेमा दुवै पार्टी संयुक्त रूपले सहभागी हुने वा सहकार्य गर्ने सहमति भएको छ ।’ भनिएको छ ।
सत्ता गठबन्धन दल माओवादी केन्द्र, प्रतिपक्षी नेकपा एमाले र नयाँ शक्ति पार्टीबीच चुनावी गठबन्धनसहित ६ बुँदे बाम एकताको आधारसहित पार्टी एकता प्रक्रिया अघि बढेसँगै ससफो नेपाल र राजपाले सत्तारुढ दल नेपाली काँग्रेसले अगुवाई गरेको लोकतान्त्रिक गठबन्धनसँग चुनावी सहकार्य गर्ने भनिए पनि शुक्रबार दुवै पार्टीले छुट्टै निर्णय गरेका हुन् ।
बाम गठबन्धन बनेसँगै लोकतान्त्रिक गठबन्धन बन्ने राजनीतिक हल्ला चले पनि ससफो नेपाल र राजपाले चुनावी सहकार्यका लागि फरक गठबन्धन निर्माण गरेपछि सत्तारुढ दल काँग्रेससहित राप्रपा र राप्रपा (प्रजातान्त्रिक), लोकतान्त्रिक फोरम सम्मिलित नयाँ गठबन्धन बन्ने राजनीतिक चर्चा ओझेलमा परेको छ ।