नयाँ बुलन्द
इलाम : दसैंको अवसरमा इलामका कारगार (सुधारगृह) बाट तीन जना कैदीबन्दीको माफी मिनाहा भएको छ । इलाम सुर्योदय नगरपालिकाका ५२ वर्षीय वीरेन्द्र राई, ताप्लेजुङ आङखोपका ४७ वर्षीय हर्कबहादुर बुढाथोकी र विराटनगरका २६ वर्षीय दीर्घराज गिरीको माफी मिनाहा भएको हो ।
तीनैजनालाई प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेल र जेलर भक्तबहादुर खड्काले अबिर लगाएर कारागारबाट बिदाइ गरे । यस पटकको दसैंका लागि कारागारले इलामबाट १२ जनाको नाम सिफारिस गरेपनि ३ जनाको मात्रै कैद मिनाहा भएको हो ।
इलामका राई कर्तव्य ज्यानमुद्धामा २० जेठ २०७० मा कैद परेका थिए । उनले ४ असोजसम्ममा ४ वर्ष ३ महिना १४ दिन कैद भुक्तान गरेका थिए । उनलाई सर्वाेच्च अदालतले १ असार २०७३ मा १० वर्षको कैद सजाय सुनाएको थियो । ताप्लेजुङका बुढाथोकी कर्तव्य ज्यान मुद्धामै २८ भदौ २०६६ मा कैद परेका थिए । उनलाई सर्वाेच्चले १९ मंसिर २०७३ मा २० वर्षको कैद सजाय सुनाएको थियो । उनले पनि ४ असोजसम्ममा ८ वर्ष ८ दिन कैद भुक्तान गरेका थिए ।
विराटनगरका गिरी ज्यान मार्ने उद्योगमा ९ चैत २०७० मा ७ वर्षका लागि जेल परेका थिए । उनलाई सर्वाेच्चले २६ माघ २०७३ मा कैद सजाय सुनाएको थियो । उनले ३ वर्ष ५ महिना २५ दिन कैद भुक्तान गरेका थिए ।
४० प्रतिशत कैद भुक्तान गरेर तोकिएको मापदण्ड पुर्याएका कैदीको कैद मिनाहा गरिएको जनाईएको छ । ४० प्रतिशत कैद भुक्तान गरी असल चालचलन, बानी व्यहोराजस्ता मापदण्ड पूरा गरेका कैदीहरूलाई सरकारको निर्णयअनुसार बिदा गरिएको जेलर खड्काले जानकारी दिए ।
तोकिएको मापदण्ड पुगेका कैदीलाई कारागारले सिफारिस गरेर कारागार व्यवस्थापन विभागमा माफी मिनाहाका लागि सिफारिस गर्छ । त्यही सिफारिसका आधारमा मन्त्रिपरिषद्को २ असोजको बैठकले कैद मिनाहाका लागि निर्णय गरेको थियो ।