रौतहट : रौतहटमा अन्तिम नतिजा आउन बाँकी २ नगरपालिकाको मत गणना अन्तिम अवस्थामा पुगेको छ। गरुडामा संघीय समाजवादी फोरम र कटहरियामा माओवादी केन्द्र अगाडि देखिएका छन् ।
रौतहटको १८ स्थानीय तहमध्ये शनिबार साँझ नै १६ तहको मत परिणाम सार्वजनिक भइसकेको छ।
आइतबार बिहानसम्म कटहरिया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार शियाराम कुशवाहले ३३६० र नेपाली कांग्रेसका अजय प्रकाशले २२७० मत ल्याएका छन्। कटहरिया नगरपालिकाको ९ नम्वर वडाको मतगणना हुन बाँकी छ। त्यस वडामा करिब एक हजार मत रहेको छ।
गरुडा नगरपालिकामा भने संघीय समाजवादी फोरम नेपालका इनु राय यादव अगाडि रहेका छन्। उनले आइतवार बिहान सम्म ३०२६ र नेपाली कांग्रेसका सुनिल कुमार यादवले २४८१ मत पाएका छन्।
रौतहटमा नेपाली कांग्रेसले ८, माओवादीले २, संघीय समाजवादी फोरमले ३, नेपाल लोकतान्त्रिक फोरम १ र राजपा नेपालले २ स्थानीय तहमा विजय हासिल गरेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललको जिल्ला रौतहटमा एमालेले हालसम्म कुने स्थानीय तह जित्न सकेको छैन । बाँकी २ नगरपालिकामा समेत उसको मत कमजोर भएपछि रौतहटबाट एमाले पत्तासाफ भएको विश्लेषण हुन थालेको छ ।
घोषणा भइसकेका १६ तहको परिणाम
परोहा नगरपालिका– शेख वकिल/कांग्रेस
चन्द्रपुर नगरपालिका– रामचन्द्र चौधरी/कांग्रेस
गढीमाई नगरपालिका– श्याम यादव/कांग्रेस
फतुवा विजयपुर नगरपालिका– गोपाल राय यादव/कांग्रेस
राजपुर नगरपालिका- शेष सकिल/कांग्रेस
दुर्गाभगवती गाउँपालिका- अरुण साह/कांग्रेस
बृन्दावन नगरपालिका- रामस्नेही राय यादव/कांग्रेस
राजदेवी नगरपालिका– धिरेन्द्रकुमार सिंह/कांग्रेस
मौलापुर नगरपालिका– रिनाकुमारी साह/माओवादी केन्द्र
यमुनामाई गाउँपालिका– श्रीप्रसाद मुखिया बिन/माओवादी केन्द्र
गौर नगरपालिका– अजय कुमार गुप्ता/राजपा
गुजरा नगरपालिका- सन्तलाल चौधरी/राजपा
देवाहिगुनाही नगरपालिका– धर्मेन्द्र पटेल/समाजवादी फोरम
माधवनारायण नगरपालिका- वीरेन्द्र प्रसाद यादव/समाजवादी फोरम
इशनाथ नगरपालिका– सन्तोष मेहता/लोकतान्त्रिक फोरम
बौद्धीमाई नगरपालिका– राजीव रञ्जन यादव/लोकतान्त्रिक फोरम