वसन्त लिम्बू
ताप्लेजुङ : फुङलिङ नगरपालिका २ का जयराम कार्किले व्यावसायिक रूपमा गाईपालनवाट मासिक ३० देखि ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । विगत २ वर्षदेखि व्यावसायिक रूपमा गाईपालन सुरु गरेका उनको गाई फार्ममा ६ ओटा दुहुना गाई छन् । बिहान सबेरै उठेर गाई फार्ममा छिर्नेे उनी गाईको गोठ सफा गर्नदेखि लिएर गाईलाई दाना समेत दिएपछि दुहुन थाल्छन् ।
दैनिक ४० देखि ५० लिटरसम्म उत्पादन हुने दूध बिहानको साढे ६ पछि आफ्नो सामान्य मोटर साईकलमा लिएर सदरमुकाम फुङ्लिङ बजारतर्फ लाग्छन् । करिव ४ किलोमिटर कच्ची बाटो पार गरेपछि पुगिने बजारका प्रत्येक जसो घरमा पुग्छन् र दूध बेच्दै हिँड्छन् । यो उनको दिनको सुरुआती हो । बजारमा घरघरमा दूध पु¥याएपछि करिब १० बजे फेरि फर्कन्छन् ।
दैनिक रूपमा गरिने यो कामप्रति खुसी छन् उनी । व्यावसायिक रूपमै गाई पालन गरेर विदेशमा भन्दा राम्रो कमाई भएपछि युवालाई विदेश नजान सल्लाह दिन्छन् । कार्कि जस्तै सोही ठाउँका अर्का गाईपालक कृष्ण बस्नेतको पनि दैनिकी त्यसरी नै चल्छ । उनी भन्छन् ‘घरैमा बसेर राम्रो कमाई पनि हुने दूधसँग खाना खान पनि पाईने किन विदेशिनु प¥यो र ?’
जिल्लामा बजारको कुनै पनि समस्या नभएको उनको भनाइ छ । बजारमा मागअनुरूप नै पु¥याउन सकिएको छैन, अझै गाईको संख्या बढाउने सोचमा रहेको उनी बताउँछन् । गाईपालन व्यावसायबाट मनग्य आम्दानी हुने भएपछि ताप्लेजुङमा व्यावसायिक गाईपालनतर्फ युवाहरू आर्कषित हुन थालेका छन् । राम्रो कमाइ हुने भएपछि युवाहरू यसतर्फ आर्कषित भएका हुन् ।
मनग्य आम्दानी त छँदै छ त्यो सँगै स्थानीय वेरोजगार युवाको लागि समेत रोजगारीको वातावरण गाई फार्मले सिर्जना गरेको छ । एउटा गाई फार्ममा २ देखि ४ जनासम्मले रोजगारी पाएका छन् । स्थानीय सहकारीसँगको साझेदारीमा उन्नति परियोजनालेसमेत तालिम तथा व्यावसायिक ज्ञान दिन थालेपछि झन यो पेसातर्फ आर्कषित भएका छन् ।
जिल्लामा स्थानिय सहकारीसँग साझेदारी गर्दै उन्नतिले १९ लाख ५४ हजार ५ सय रूपैयाँ अनुदान वितरण गरेको छ । जसबाट गोठ सुघार कार्यक्रम, गाईपालकलाई तालिम, घाँस खेती प्रविधि तथा बजारीकरणको पनि बाटो देखाउने काम भइरहेको उन्नति परियोजनाका ताप्लेजुङ कृषि व्यवसाय विशेषज्ञ नरेन्द्र निरौलाको भनाइ छ ।
पहिले सुरुमा गाईपालन सुरु गर्दाभन्दा अहिले गोठ सुधार तथा उन्नत जातको घाँस दिन थालेपछि दूध उत्पादनमा समेत वृद्धि भएको अनुभव सुनाउँछन् जयराम कार्की । अर्कोतर्फ पशु बिमा कार्यक्रमसमेत प्रभावकारी रूपमा सञ्चालनमा आएपछि झन् उत्साहित भएको उनको भनाइ छ । किसानको जीबनस्तर उकास्नको लागि उत्पादन लागत को नीतिमा जोड दिन सके कृषि पेसा अँगालेरै गाउँ परिवर्तन गर्न सकिने कार्कीको विश्वास छ ।