काठमाडौं : नेपाल टेलिकमले विजयादशमीको उपलक्ष्यमा विगतमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा छुट उपलब्ध गराएको छ । टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा ५ असोजदेखि १० गतेसम्म ५०, १००, २ सय, ५ सय र १ हजार रुपैयाँका रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराएको छ । त्यसैगरी, १० र सोभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दासमेत १० प्रतिशत बोनस उपलब्ध गराएको छ । कम्पनीले युट्युब डाटा प्याकेजअन्तर्गत जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइलमा युट्युब डाटा प्याकेजअन्तर्गत सय रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध गराउने भएको छ ।
कम्बो प्याकेजअन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड र पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेजअन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । त्यसैगरी, २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा १ सय १० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १ सय ५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३ सय ६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ ।
यो प्याकेज पनि असोज ५ गतेदेखि १९ गतेसम्म लिइसक्नुपर्ने कम्पनीले जनाएको छ । पिएसएनटिएनरसी फोन (पोस्टपेड फिक्सड) सेवामा बोनस सेवामा न्यूनतम मासिक महसुल २ सयमा १ सय ७५ स्थानीय कल निःशुल्क तथा असोजमा सय र कात्तिकमा सय स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय ७५ कल निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।