आधा दर्जा सहकारी संस्थाको साधारणसभा

नयाँ बुलन्द

झापा : झापाको कमल र दमकका आधा दर्जन जति सहकारी संस्थाहरुले आफना वार्षिक साधारणसभा सम्पन्न गरेका छन् । कमल गाँउपालिका५ का चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था, लगनशील कृषि सहकारी संस्था र बस्तिविकास बचत तथा ऋण सहकारी संस्थाले छुट्टाछुट्टै कार्यक्रम गरि आफना साधारणसभा सम्पन्न गरेका हुन् । त्यस्तै दमक६ को शुभकामना बचत तथा ऋण सहकारी संस्था र दमककै मोडल बचत तथा ऋण सहकारी संस्थाले साधारणसभा सम्पन्न गरेका थिए ।

गुहेश्वरी स्कुलको प्राङगणमा लगनशील कृषि सहकारीले १० औ बार्षिक साधारणसभा गरे । जिल्ला सहकारी संघका सदस्य प्रेम कोइरालाको प्रमुख आतिथ्यतामा भएको थियो । साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष डम्बरबहादुर निरौलाले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक विष्णुप्रसाद खनालले प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सुझावसहित पाति गरिएको व्यवस्थापक किशोर गुरागाईले जनाए । त्यस अवसरमा संस्थाका ज्येष्ठ शेयर सदस्य १०५ बर्षिय रणबहादुर कार्कीलाई सम्मान गर्नुका साथै संस्थामा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ठ हुने रुविना भट्टराई र पारस गिरी, ६ जना दुग्ध उत्पादक,कुखुरापालक गोविन्द खनाल,तरकारी खेती तर्फ इन्द्रवहादुर बुढाथोकी,बंगुरपालन तर्फ डिल्लीमाया विक,च्याँउ खेती तर्फ प्रेमबहादुर राई र निजी वन स्थापना गर्ने दुर्गाप्रसाद प्रसाईलाई सम्मान गरिएको थियो । साधारणसभाको उद्घाटनमा क्षेत्रीय सहकारी समन्वय समितिका संयोजक मणिकुमार भण्डारी,मेची सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई ,राष्ट्रिय सहकारी कर्मचारी संघका  िजिल्ला अध्यक्ष निलकण्ठ निरौलालगायतले सहकारीका बारेमा बोलेका थिए ।

बस्तिविकास शाकोसको साधारणसभा

कमल : यसैगरि कमल गाँउपालिकाकै बस्तिविकास शाकोसले स्थानीय गुरागाई वंश प्रतिष्ठानको सभाहलमा दोश्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । त्यस अवसरमा संस्थाका अध्यक्ष तिर्थकुमार ताजपुरियाले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा समितिका संयोजक शुरेस शर्माले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । त्यस अवसरमा संस्थामा उत्कृष्ठ कारोवार गर्ने एक दर्जन बढी शेयर सदस्यहरुलाई पुरस्कार प्रदान गरिएको थियो । जिल्ला सहकारी संघका पूर्व उपाध्यक्ष बलराम गजुरेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा दमकको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रकुमार राईलगायतले सहकारीको महत्वको विषयमा बोल्दै बस्तिविकास सहकारीको सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका सल्लाहकार सदस्य भुपेन्द्र लावतीले सञ्चालन गरेका थिए ।

रु २२ लाख ४ हजार २ सय रुपैया शेयर पूंजी रहेको सो संस्थाले गएको आर्थिक बर्षमा २ करोड ९५ लाख ८६ हजार ६ सय १७ रुपैया निक्षेप संकलन, २ करोड ३७ लाख ४४ हजार ७ सय ६३ रुपैया निक्षेप फिर्ता , ऋण लगानी २ करोड ३१ लाख ११ हजार १९८ रुपैया, ऋण असुली १ करोड ३५ लाख६७ हजार ५८९ रुपैया र रु १२ लाख ९९ हजार २ सय ५८ रुपैया कुल आम्दानी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

चन्द्रदर्शनद्धारा सम्मान तथा पुरस्कार

पाडाजुंगी : यहाँँस्थित चन्द्रदर्शन शाकोसले आफनै कार्यालयको प्राङगणमा सातौ बार्षिक चुनावी साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा संस्थाले उत्कृष्ठ ऋणी ,बचत कर्तासहित १० जजा , २ जना उत्कृष्ठ बाल बचतकर्ता शेयर सदस्यहरुलाई पुरस्कृत गर्नुका साथै एसइई परीक्षामा उत्कृष्ठ एक विद्यार्थी र एक जना अशक्तलाई ह्वी चियर हस्तान्तरण गरिएको थियो । बाल बचत तर्फ सुरज मेचे , श्रिष्टी खड्का र शेयर सदस्यका परिवार तर्फ एसइईमा उत्कृष्ठ हुने निकीता श्रेष्ठलाई पुरस्कृत गरिएको संस्थाले जनाएको छ । त्यस्तै शेयर सदस्य परिवारका स्थानीय भक्त कार्कीको छोरा अशक्त सञ्जोक कार्कीलाई एक थान ह्वील चियर प्रदान गर्यो भने पत्रकारिता क्षेत्रमा सहकारीका विषयमा कलम चलाए वापत पत्रकार विष्णु पौडेललाई नगद ५ हजार,प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष शेरवहादुर श्रेष्ठले अध्यक्षको प्रतिवेदन र लेखा संयोजक एकराज प्याकुरेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन बन्द सत्रले सुझाव सहित पारित गरिएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सभामा संघकी केन्द्रीय सदस्य चन्द्रकुमारी खड्का भट्टराई, एभरेष्ट शाकोस दमकका अध्यक्ष दिपक खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैवीच सञ्चालक समितिमा सहमती नजुटेपछि  शुक्रवारनै २० जनाको मनोनयन परेको छ । निर्वाचन सम्पन्न गर्न मंगलमय माविका शिक्षक ओमप्रकाश खनालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । ११ सदस्यीय सञ्चालक समितिमा २० जना र ३ सदस्यीय लेखा समितिमा ४ जनाको उम्मेदवारी परेको छ । आउदो आइतबार सम्म मनोनयन दर्ता गरेका शेयर सदस्यहरुवीच थप सहमति खोजिने बुझिएको छ ।

शुभकामना शाकोसमा गजमेर

दमक : दमक६ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा युवा व्यवसायी चन्द्रबाहदुर गजमेर चुनिएका छन् । शुक्रवार सम्पन्न संस्थाको बार्षिक साधारणसभाले गमजेरको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा शेरवहादुर गजमेर ,सचिवमा लोकबहादुर थापा र कोषाध्यक्षमा अम्बिका निरौला चुनिए । यसैगरि सदस्यहरुमा यामनाथ पाठक, देउमान सिन्चुरी, प्रेमबहादुर सिन्चुरी, मनोज अग्रवाल, चक्र गजमेर र युवराज गजमेर चुनिएका छन् । यस्तै टिकाराम अधिकारीको संयोजकत्मा तीन सदस्यीय लेखा समिति गठन गरिएको छ । निर्विरोध निर्वाचित लेखा समितिको द्धय सदस्यमा खगेन्द्र दुलाल र सुर्य कटुवाल रहेका छन् ।

पशुपति मन्दिरको सभाहलमा आयोजित साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष ऋषिधन गजमेरले अध्यक्षको प्रतिवेदन र लेखा संयोजकले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन बन्दसत्रले सुझावसहित पारित गरिएको थियो । साधारणसभा समाजसेवी कोमल प्रसाईको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार