१ नम्बर प्रदेशमा पनि हर्न निषेध

बसन्त लिम्बू

ताप्लेजुङ : प्रदेश नम्बर १ मा सवारी साधनको हर्न निषेध गरिएको छ । १ नम्बरमा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा अनावश्यक रूपमा सवारी साधनमा हर्न बजाउन नपाइने भएको हो । ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम आइतबारदेखि लागू गरिएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यी जिल्लामा हर्न बजाउन नपाइने नियम लागू गर्न यसअघि पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले माताहतका ट्राफिक प्रहरी कार्यालयहरूमा पत्राचार गरेको थियो । सोही अनुरूप सबै जिल्लाहरूमा हर्न निषेधित क्षेत्र लेखिएका बोर्डहरू राखिएको छ भने यातायात व्यवसायीहरूलाई समेत पत्राचार गरी कार्यान्वयका लागि अनुरोध गरिएको छ । यस्तै यो नियम लागू गर्नका लागि सबै जिल्लाहरूमा ट्राफिक प्रहरी सचेतनामुलक कार्यक्रम सहितको अभियान नै सञ्चालन गरेको छ ।

अनावश्यक रूपमा सवारी साधनको हर्न वजाउँदा ध्वनी प्रदुषण भएको साथै बजार क्षेत्र अस्तव्यस्त जस्तो देखिने भएकाले पनि यस्तो नियम लागू गरिएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले बताएको छ । यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त निर्णयमा हर्न निषेधित क्षेत्र बनाउन यसअघि निर्णय भएको थियो ।

यो नियम लागू भएपछि अनावश्यक रूपमा हर्न बजाउन पाइने छैन । तर, घुम्ती, सवारी साधन दुर्घटना पर्न सक्ने अवस्थामा भने बजाउन पाइने छ । यो नियमलाई कडाइका साथ कार्यान्वयन गराउन सम्पूर्ण जिल्ला प्रशासन कार्यालयको अगुवाइमा छुट्टै समितिसमेत गठन गरेको छ । नियम पालना नगरे पहिलोपटक ५ सय, त्यसपछि क्रमशः १ हजार र १५ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने ताप्लेजुङ ट्राफिक प्रहरी प्रमुख टंक न्यौपानेको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार