कार्यपालिकाले पारित गर्यो ४ ऐन र ७ कार्यविधि
नयाँ बुलन्द
इलाम : इलाम नगर कार्यपालिकाको प्रथम नगर सभाले चार ऐन र सात वटा कार्यविधि पारित गरेको छ । गत भदौ २५ गतेबाट शुरु भएको सभा भदौ ३० गते सम्म बसे र पुनः असोज ४ गते बस्ने भएको छ । सोही सभामा इलाम नगरपालिकाको चालु आर्थिक वर्ष 2०७४/०७५ को लागि चौसठ्ठी करोड सत्तरी लाख रुपैंयाँको बजेट समेत पारित गरेको छ ।
नगरलाई कसरी अगाडि बढाउने तथा व्यवस्थित गर्ने उद्देश्यले सभाले पारित गरेको चार ऐनहरुमा आर्थिक विनियोजन ऐन २०७४, आर्थिक व्यवस्थापन ऐन २०७४, सहकारी व्यवस्थापन तथा संचालन ऐन २०७४ र सार्वजनिक निजी साझेदारी लगानी व्यवस्थापन ऐन २०७४ रहेको छ । त्यस्तै कार्यविधिहरुमा इलाम नगर कार्यपालिकाको कार्य सम्पादन कार्यविधि, इलाम नगरपालिका बजेट संचालन कार्यविधि, इलाम नगर कार्यपालिकाको बैठक संचालन कार्यविधि, इलाम नगरपालिकाको प्रमाणिकरण कार्यविधि, इलाम नगरको बजेट तथा योजना तर्जुमा कार्यविधि, नगर सभा संचालन कार्यविधि र एफएम रेडियो संचालन कार्यविधि रहेका छन् ।
त्यस्तै नगर सभाले नगरबासीको सहजता र हितको लागि केही नीति तथा कार्यक्रमहरु पनि ल्याएको छ । ति नीति तथा कार्यक्रमहरुमा जेष्ठ नागरिकहरुलाई सहजताको लागि जेष्ठ नागरिक आत्म सन्तोष कार्यक्रम, नगरका महिला स्वयम सेविकाहरुलाई मासिक एक हजार रुपैंयाँ उपलब्ध गराउने, नगरको हरेक वडामा एक खेल मैदान निर्माण गर्ने, दलित आवास कार्यक्रम, सुत्केरी सुविधा उपलब्ध गराउने, मजदुरहरुको बिमा गराउने, इलाम सदरमुकाम स्थापना भएको दुईसय वर्ष पुगेको अवसराम आगामी वि.सं. २०७५ सालमा विविध कार्यक्रम आयोजना गर्ने, दैवि प्रकोप तथा विपत व्यवस्थापन गर्ने, खानेपानी आपुर्तिमा सुधार गर्ने, भू उपयोग योजना तथा यातायात योजना तयार गर्ने, नगरको प्रोफाईल तयार गर्ने जस्ता कार्यक्रमहरु रहेको नगर कार्यपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।
यता नगर प्रमुख महेश बस्नेतले नगरको लागि नेपाल सरकारबाट सशर्त अनुदानमा पच्चीस करोड पचपन्न लाख रुपैंयाँ प्राप्त भएको बताए । सो रकम नगर क्षेत्र भित्र रहेका विद्यालयका शिक्षकहरुलाई तलब भत्ता, इलाम अस्पतालका कार्यरतहरुलाई तलब भत्ता, जनस्वास्थ्यका कार्यक्रमहरु र त्यससँग सम्बन्धित कर्मचारीहरुलाई तलब, आर्युवेदिक अस्पतालका कार्यरत कर्मचारीहरुको तलब, कृषि विकास र पशु सेवा कार्यालयमा करारमा रहेका कर्मचारीहरुको तलबमा खर्च गरिने उनले बताए ।
त्यस्तै बाँकी निशर्त बजेट छयालीस करोड अठासी लाख रुपैंयाँ अन्य शिर्षकहरुमा खर्च गरिने समेत जानकारी गरिनेछ । मेयर बस्नेतका अनुसार यस आर्थिक वर्षलाई नगरले पुर्वाधार तयारी वर्षको रुपमा लिईने र यसैको लागि कुल बजेटको सैंतीस (३७) प्रतिशत रकम नगरको सडकका लागि छुट्याइएको छ । चियाबारी दैनिकको जिज्ञासामा मेयर बस्नेतले आगामी असोज ४ गते बस्ने नगर सभामा कुनै ऐन पारित नहुने तर कार्यविधिहरु भने पारित हुने जानकारी दिएको खबर चियाबारी दैनिकमा छ ।