नयाँ बुलन्द
इलाम : नेपाल बैंक इलामले दसैंका लागि खुद्रा नयाँ नोट आइतबारदेखि साट्न थालेको छ ।
प्रतिग्राहक चार हजार रुपैयाँका दरले खुद्रा साट्न थालिएको छ । जसमा एक सयका दुई हजार पाँच सय, ५० का एक हजार, २० का चार सय र ५ का एक सय रुपैयाँ सहित चार हजार रुपैयाँका दरले खुद्रा नयाँ नोट वितरण थालिएको नेपाल बैंक इलामले जनाएको छ ।
इलाम सदरमुकामस्थित कार्यालयबाट सेवा खुद्रा नयाँ नोट साट्न थालिएको नेपाल बैंक इलामका निमित्त प्रमुख कृष्णबहादुर नेपालले जानकारी दिए । विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुद्रा साट्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
यस वर्षको दसैंका लागि नेपाल बैंक इलाममा दुई करोड २० लाख रुपैयाँ खुद्रा नयाँ नोट आएको छ । जसमध्ये ५, २० र १०० का नोट पर्याप्त आएका छन् भने १० र ५० का नोट अत्यन्तै कम मात्रामा आएको बैंकका निमित्त प्रमुख नेपालले जानकारी दिए ।
नेपाल बैंक सहित अन्य जिल्लाका विभिन्न वाणिज्य तथा विकास बैंकमार्फत पनि सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउन थालिएको निमित्त प्रमुख नेपालले बताए । उनका अनुसार ती बैंकहराई माग भएका आधारमा बढीका १० लाखसम्म खुद्रा नयाँ नोट उपलब्ध गराईएको छ ।
यस पटकको दशैंमा छ हजार भन्दा बढी ग्राहकलाई खुद्रा नयाँ नोट उपलब्ध गराउने लक्ष्य रहेको नेपालले बताए । कुनै ग्राहकबाट खुद्रा नपाएको गुनासो नआउने गरी व्यवस्थापन गर्ने तयारी बैंकले गरेको उनको भनाई छ । विगतका वर्षमा पर्याप्त खुद्रा नआएको भन्दै ग्राहकहरु आक्रोशित बन्दै आएका छन् ।