२ नम्बर प्रदेशमा निर्वाचनको तयारी पूरा

२६ लाख मतदाताका लागि ३७ हजार उम्मेदबार चुनावी मैदानमा उत्रिदै 

काठमाडौं : स्थानीय तहको तेस्रो चरण अन्तर्गत २ नम्बर प्रदेशमा हुन गइरहेको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् ।  मतदाता परिचयपत्र वितरण कार्य भने जारी छ । मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगले जनाएको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा भोलि (सोमबार) बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनका लागि ती जिल्लामा तीन हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश नं २ का १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि २६ लाख ६४ हजार ९५० जनालाई मतदान गर्ने अधिकार छ ।

विगतका निर्वाचनमा राष्ट्रिय औशत बदर मतभन्दा प्रदेश नं २ का जिल्लामा धेरै मत बदर हुने गरेको तथ्यांकका आधारमा आयोगले यसपटकको निर्वाचनमा मतदाता शिक्षामा बढी जोड दिँदै आएको छ । त्यस प्रदेशका स्थानीय तहका विभिन्न पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ ।

बदर मतसंख्या घटाउन प्रत्येक मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउने मतदातालाई सहीरुपमा मत संकेत गर्न सिकाइरहेको आयोगले जनाएको छ ।

त्यसका लागि मतदाता स्वयं नै मतदान केन्द्रमा उपस्थित भई मत संकेत गर्ने जानकारी लिने तथा परिचयपत्र बुझ्ने व्यवस्था मिलाइएको छ । अधिकांश मतदान केन्द्रमा मतदाता परिचयपत्र लिन आउने र सहीरुपमा मतसंकेत गर्न सिक्ने मतदाताको भीड लागेको आयोगले जनाएको छ ।

मतगणनाका लागि आवश्यकता अनुसार १२ टोलीसम्म गठन गर्ने र भरसक पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोच अघि बढाएको छ । त्यसका लागि आवश्यक मतगणना स्थलको व्यवस्था गर्न र प्रत्येक मतदाताको मतको पूर्ण सुरक्षा हुनेगरी सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार