तेह्रथुम : स्थानीय तह गठन भएपछि सरकारले शिक्षा क्षेत्रको बजेट स्थानीय तह र जिल्ला शिक्षा कार्यालय दुवैतिरबाट पठाउने व्यवस्था गरेको छ । तर यो व्यवस्थाले काम गर्न झन्झटिलो भएको सरोकारवालाले बताएका छन् । शिक्षा मन्त्रालयले दुईतिर रकम पठाउँदा समस्या निम्तिएको जनप्रतिनिधि र कर्मचारीले बताएका हुन् ।
स्थानीय तह कार्यान्वयनमा आएपछि मन्त्रालयले शिक्षकको तलब भत्ता, पाठ्यपुस्तक, पुस्तकालय सन्चालन तथा व्यवस्थापन अनुदान, कर्मचारी अनुदान, अन्य विभिन्न अनुदानहरु स्थानीय तहमै पठाएको छ । निःशर्त अनुदान तथा बजेट भने जिल्ला शिक्षा कार्यालयबाटै वितरण हुनेगरी व्यवस्था गरेको छ ।
विद्यालयको भौतिक सुविधा विस्तारका कामका लागि विनियोजन हुने बजेट जिल्ला शिक्षा कार्यालयबाटै जाने भएको छ । जेहेन्दार सिमान्तकृत, द्वन्द्वपीडित र अपांगता भएका बालबालिकाका लागि आउने छात्रवृद्धि, श्रोतव्यक्तिको सट्टामा रहेका शिक्षकको तलब र धार्मिक विद्यालयमा जाने तलब जिल्ला पनि जिल्ला शिक्षा कार्यालयबाटै आउनेछ ।
सशर्त बाहेकका कार्यक्रमको बजेटमध्ये ५३ प्रतिशत जिल्ला शिक्षा कार्यालयमा र ४७ प्रतिशत मात्रै स्थानीय तहमा गएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षका लागि जिल्ला शिक्षा कार्यालयमा १० करोड ४१ लाख ९९ हजार रुपैयाँ प्राप्त भएको छ । यो रकमबाट कार्यालयले विद्यालयको मर्मत, भवन निर्माण र शौचालय निर्माण अनुदान उपलब्ध गराउनेछ ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका स्थानीय तहमा ४९ करोड ४२ लाख ३० हजार रुपैयाँ गएको छ । जसमध्ये म्याङलुङ्ग नगरपालिकामा ८ करोड ३९ लाख ७८ हजार रुपैयाँ बजेट रहेको छ । यस्तै आठराई गाउँपालिकामा ११ करोड ८९ लाख ९७ हजार रुपैयाँ, लालीगुराँस नगरपालिकामा ७ करोड ४७ लाख ७० हजार रुपैयाँ, छथर गाउँपालिकामा ८ करोड ७१ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
फेदाप गाउँपालिकामा ८ करोड ४८ लाख ९० हजार र मेन्छ्यायेम गाउँपालिकामा ४ करोड ४३ लाख ९८ हजार रुपैयाँ बजेट गएको जिशिअ पोखरेलले जानकारी दिए । स्थानीय तहमा गएको बजेटमा सबैभन्दा धेरै शिक्षकको तलब भत्ता वापतको रकम रहेको छ । जिल्लाका सबै स्थानीय तहमा कर्मचारी पुगिनसकेकाले दसैँमा शिक्षकहरुलाई तलब खुवाउन पनि स्थानीय तहलाई हम्मे हम्मे परेको छ ।
कतिपय स्थानीय तहमा बैंक नै नभएकाले झनै समस्या निम्तिएको छ । बैंक नभएका स्थानीय तहका कर्मचारीहरु फाइल बोकेर सदरमुकाम नै धाइरहेका छन् । कार्यालय खुल्ने दिन अब एक साता मात्रै बाँकी रहँदासमेत स्थानीय तहहरुले शिक्षकहरुको तलब भत्ता निकासा गर्न सकेका छैनन् । म्याङलुङ्ग नगरपालिकामा एक महिनादेखि कार्यकारी अधिकृत नै नभएकाले झनै समस्या भएको छ ।
दसैँ अगाडि शिक्षकको तलब भत्ता र वृद्ध वृद्धाको सामाजिक सुरक्षा भत्ता खुवाउनै समस्या परेको मेयर सन्जयकुमार तुम्बाहाम्फेले बताए । जिल्लामा बाल विकास केन्द्र २ सय ४१, आधारभूत विद्यालय १ सय ८२, माध्यमिक विद्यालय ४६, क्याम्पस ६, सामुदायिक सिकाई केन्द्र २१, खुला विद्यालय १ र प्राविधिक धारको पठन पाठन हुने विद्यालय १ वटा रहेका छन् ।