
काठमाडौं : प्रदेश नम्बर दुईको चुनाव नजिकिँदै गर्दा दलीय सरगर्मी झन्झन् तातिँदैछ । स्वतन्त्रसहित सबै दलका उम्मेदवार आफ्ना समर्थकको भीड लिएर भोट माग्दै मतदाताको घरघरमा पुग्ने क्रम जारी छ । मधेसको गर्मीमा घरदैलो गर्न कठिन छ तर उम्मेदवार र समर्थक जसरी पनि जनतासम्म पुग्न व्यस्त छन् ।
यसैक्रममा, मधेशमा पहिलो पार्टी बन्ने लक्ष्य लिएर संघीय समाजवादी फोरम नेपालले आक्रमक रुपमा प्रचारप्रसार र मतदातालाई आफ्नो एजेन्डा बुझाउन लागिपरेको छ । यसका लागि पार्टीका शीर्ष नेताहरु स्वयं चुनाव हुन लागेको मधेशका जिल्लाहरुमा खटिएका छन् । पार्टीले सबै शीर्ष नेताहरुलाई मधेशका जिल्लाहरुमा सक्रियतापूर्वक लाग्न खटाइसकेको छ ।
फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सातादिनदेखि मधेशमा खटिँदै आएका छन् । पर्सा, सप्तरी, महोत्तरी र धनुषा लगायतका जिल्लाहरुको सभा र घरदैलो कार्यक्रममा यादव सक्रिय रुपमा सहभागी भइसकेका छन् ।
सोमबार पनि अध्यक्ष यादव धनुुषाको विभिन्न ठाउँमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । चुनावसम्मै मधेशका जिल्लाहरुमा खटिने यादवको योजना छ । फोरम नेपालको चुनावीमा सभामा दैनिक हजारौंको संख्यामा नेता कार्यकर्ता प्रवेश गरिरहेका छन् ।
फोरम नेपालका वरिष्ठ नेता अशोक राई पनि मधेशका जिल्लामा चुनावी गतिविधि गर्न सक्रिय छन् । सिरहामा व्यस्त देखिएका नेता राई सदरमुकामदेखि गाउँगाउँसम्मै पुगेर पार्टीको एजेन्डा बुझाउन र मतदाताको मन जित्ने प्रयासमा छन् ।
उपाध्यक्ष रेणु यादव गृहजिल्ला सप्तरीको चुनावी मोर्चा सम्हालेकी छन् । गाउँदेखि शहरसम्मको चुनाव अभियानमा उनी सक्रिय छन् । यसैगरी, फोरम नेपालका उपाध्यक्ष युवराज कार्की सिरहाको लहानमा खटिएका छन् । पार्टीले दिएको जिम्मेबारी अनुसार कार्की सिरहाको चुनावी गतिविधिलाई प्रभावकारी बनाउन लागिपरेका छन् ।
पार्टीका अर्का उपाध्यक्ष एवं सांसद लालबाबु राउत गृहजिल्ला पर्साको चुनावी अभियान सफल बनाउन दिनँहु घरदैलो कार्यक्रमलाई तिब्रता दिइरहेका छन् । पहिलो पार्टी बन्ने दौडमा रहेको फोरम नेपालले दुई नम्बर प्रदेशको एक मात्र महानगर विरगञ्जमाथि विजय हासिल गर्न प्रतिष्ठाको विषय बनाएर चुनावी अभियान संचालन गरिरहेको छ ।
महासचिवद्घय रामसहाय प्रसाद यादव र रणध्वज कन्दङ्वा पर्सादेखि रौतहटसम्मको चुनावी अभियानमा व्यस्त छन् । पर्सा, बारा र रौतहटको चुनावी अभियानलाई प्रभावकारी बनाउन उनीहरु दिनरात खटिएका छन् ।
केन्द्रीय कोषाध्यक्ष विजयकुमार यादव पनि गृहजिल्ला सिरहामै सक्रिय छन् । सिरहामा बलियो पकड बनाएको फोरम नेपालको चुनावी अभियानलाई थप प्रभावकारी बनाउन यादव घरदैलो कार्यक्रममा व्यस्त छन् ।