नारायण तुम्बापो
पाँचथर : ‘हरियो वन नेपालको धन’, यो भनाई अनुसारको कमाई पाँचथरका सामुदायिक बनहरुले धमाधम दिइरहेका छन् । बनजन्य काठपात, घाँस दाउरा, जडीबुटी, खोटोलगायत निश्चित मापदण्डले विक्री गरेर समुदायले कमाई गरिरहेका हुन् ।
पाँचथरको विभिन्न ५० वटा सामुदायिक वनले हिजोआज वार्षिक एक करोड बराबरको आम्दानी दिइरहेको बताइएको छ । वनबाटको आम्दानीले गाउँघरको विकास निर्माण लगायतको सामाजिक काम उठाइरहेको छ । ग्रामिण स्वास्थ्य, शिक्षा, सडकलगायत सुधार विस्तारको सामाजिक काम भइरहेको सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर अध्यक्ष देविप्रसाद न्यौपानेले बताए ।
३ वर्षअघि बिजुली भञ्ज्याङ सामुदायिक वन अमरपुरले एम्बुलेन्स खरिदका लागि स्थानीय सामाजिक संस्थालाई तीन लाख रुपियाँ सहयोग दियो । त्यसपछिका वर्षमा भदौरे सामुदायिक वन भारापाले नजिकैको हेवा खोलामा झोलुङ्गे पुल निर्माण गर्न ७० हजार रुपियाँ प्रदान गर्यो । फिदिम–४, को डाँडा वन सामुदायिक वन गढीले मठ मन्द्रिरको संरक्षण सम्बद्र्धनका लागि ३ लाख रुपियाँ खर्च गर्यो । त्यसैगरि फिदिम–५ को देउराली सामुदायिक वनले स्थानीय सुखबोध माविलाई एक लाख रुपियाँ सहयोग गर्यो ।
यसैगरि विभिन्न सामुदायिक वनले पनि स्थानीय स्तरको दर्जनौं साना तिना विकास निर्माणको योजना सम्पादन गर्न बजेट उपलब्ध गराउने गरेको छ । बाटो, खानेपानी, विद्यालय, पुल, स्वास्थ्य चौकी, पाटीपौवा लगायतका लागि आवस्यक पर्ने बजेट अभाव सामुदायिक वनले टारी दिने गरेको महासंघ अध्यक्ष न्यौपानेले बताए ।
जिल्लाका २० वटा विद्यालयका शिक्षकलाई तलव खुवाउन विगतदेखि वार्षिक रुपमा ५० हजारदेखि एक लाख रुपियाँसम्म सामुदायिक वनहरुले दिने गरेका पाइएको छ । यहाँको सामुदायिक वनहरुबाट हुने आम्दानी जिल्ला स्थित मात्रै नभएर बाहिर पनि सहयोग गर्न पुगीरहेको छ । सिन्धुपाल्चोक पहिरो पिडीत र २०७२ वैशाखको भूकम्प पिडीतहरुलाई राहत स्वरुप ५१÷५१ हजार रुपियाँ सहयोग वनकै आम्दानी पठाएको अध्यक्ष न्यौपानेले सुनाए ।
त्यसैगरी आगालागी, बाढी, आँधी पिडीतहरुलाई पनि यहाँका सामुदायिक वनहरुले आर्थिक जुटाएर सहयोग गर्ने गरेको छन् । मादीबुङ सामुदायिक वन अमरपुरका अध्यक्ष खड्ग रायले ‘संरक्षण गर्न सके बनले साँच्चै भने जस्तै धन दिदो रहेछ भने । उनले बनको आम्दानी रकम समाजसेवामा खर्च गरेर बचेमा सहुलियतमा ऋण समेत दिने गरेको र त्यसरी ऋण पाउदा समुदाय धेरै खुसी हुने गरेको अनुभव अध्यक्ष रायले सुनाए ।
रमाइलो सामुदायिक वन मौवाका अध्यक्ष राम कटुवालले पनि वनले समुदायको मन जिती रहेको सुनाए । उनले गत वर्ष खोटो बेचेर भएको ३ लाख २२ हजार रुपियाँ आम्दानी मध्ये १ लाख स्वास्थ्य चौकीमा खर्च गरेको र बाँकी अन्य समाजसेवामा लगानी गरेको सुनाए । अध्यक्ष कटुवालले केहि विपन्न परिवारलाई स्वास्थ्य उपचारको लागि पनि रकम वितरण गर्ने गरेको सनाए । वनबाट हुने राम््रो आम्दानीको फाइदा उपभोग गर्न पाउन थालेपछि यसको संगठित भएर संरक्षण गर्नमा स्थानीय उत्साहित भएर लागेको पाइन्छ ।
पाँचथरमा २०५५÷०५६ सालदेखि संगठित भएर सामुदायिक बन उपभोक्ता समितिहरुले आम्दानी गर्न थालेका हुन् । हालसम्म जिल्ला वन कार्यालयको तत्वाधानमा १७२ सामुदायिक वन समिति निर्माण भएका छन् । जसमध्ये १५२ वटा सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध छन् । पाँचथरका १ हजार ३६३ घरधुरी सामुदायिक बनमा सम्बद्ध रहेका छन् । यद्यपी अधिकांश उपभोक्ता समितिहरु क्रियाशिल नहुदा ठूलो सम्भावना हुदा हुदै पनि पाँचथरको सामुदायिक वनहरुबाट अपेक्षाकृत अझै लाभ लिन नसकिरहेको जिल्ला वन कार्यालय प्रमुख देवेसमणी त्रिपाठीले बताए । यहाँको बहुमुल्य जडीबुटी र वन पर्यटन प्रवद्र्धन गरेर प्रसस्तै आम्दानी लिन सकिने बताउदै प्रमुख त्रिपाठीले सवै उपभोक्ता समितिलाई कार्ययोजनाका साथ क्रियाशिल पार्न लागीरहेको बताए ।