अलैँची नर्सरीले जीवनस्तर उकास्दै

rai-1कृष्ण ओझा

पाँचथर : ‘कृषिप्रधान देश त भन्छन्, कृषिमा व्यवसायिकता खोई ? राज्यको नीति भएर पनि कार्यान्वयन भएको छैन । हाम्रै गाउँमा सम्भावना त रहेछ गरिखानेहरूका लागि’ भन्छन् याङवरक–१ का अलैँची नर्सरी कृषक मनोजकुमार राई । ‘मलाई केही गरौँ न भन्ने लाग्थ्यो तर के गर्ने भन्ने द्विविधामा थिएँ । कृषि पेसालाई मान्छेहरू पेसा सम्झिदैनन् यसैमा केही गर्नै पर्दछ जस्तो लाग्यो’, राईले भने, ‘कृषि पेसालाई मानिसहरू हेला गर्दथे । मैले त्यही पेसालाई व्यावसायिक बनाउने योजना र आँट गरेर । थोरै पैसाबाट सुरु भयो मेरो अलैँचीको नर्सरी व्यवसाय ।’

ग्रामीण क्षेत्रमा जन्मेका हुनाले कृषि नै जीवनको साहारा थियोे । स्कुल पढ्ने खर्चदेखि भैपरी आउने सबै त्यसैबाट चलाउनु पथ्र्यो । व्यावसायिकरूपमै कृषि पेसा गरिएला भन्ने सानामा कहिले सोेच नआएको उनले सुनाए । विष्णु माविमा प्राथमिक शिक्षकसमेत गरेका मनोज सरकारी जागिरभन्दा कृषिबाट बढी फाइदा हुने देख्छन् ।

उनले ०७० सालदेखि नै अलैँचीको नर्सरी राख्न थालेको बताए ।  उनको पहिलो नर्सरीको कथा पनि गज्जबकै छ । उनले पहिलोपटक अलैँचीको बीउ धेरै जग्गा थोरै भएछ बिरुवा त उम्रियो तर बढेन । प्राविधिकको सल्लाहविना नै गर्न खोज्दा नोक्सान भएको बताउँदै उनले भने, ‘कोदोको बिउजस्तो बाक्लो गरी उम्रिएको बिरुवाहरू काम नै नलाग्ने भए । आफैँ जान्ने हुँदा अलैँचीको बिउ मात्र नाश भयो’, उनले थपे ‘काम त थालियो प्राविधिक सीपविना नहुने रहेछ भन्ने लाग्यो । अलैँची नर्सरीको व्यवसायमा पहिलो गाँसमै ढुंगा लाग्यो ।’

०७२/७३ मा जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा छागेझरना अलैँची कृषक समूह गठन गरेर फेरी अलैँचीको नर्सरी राखे । समूहमा २५ जना अलैँची सामान्य रूपमा लगाउने कृषकहरू छन् । उनीहरूले प्राविधिक सहयोग पाए पनि उस्तै गरी सञ्चालन गरे । उनले भने, ‘मैले व्यावसायिक रूपमा प्राविधिक सल्लाह बमोजिम नै फेरी अर्को चरणको बेर्ना राख्नलाई बिउहरूको जोहो गरेँ ।

यसपटक लगाएको अलैँचीको बिरुवा सोचेभन्दा राम्रो आयो ।’ जिल्ला कृषि विकास कार्यालयले सिँचाइका लागि पाइप, पहिलो चरणमा लगाउने सेतो नेट, दोस्रो चरणमा लगाउने हरियो नेट प्राविधिक सहयोग र विषादीहरू सहयोग गरेको उनी बताउँछन् । कृषि विकास कार्यालयले यसरी सहयोग गर्ला भन्ने कहिल्यै नलागेको उनले सुनाए ।  जिल्ला कृषि विकास कार्यालयसँग सहकार्य गरेर २५÷३० हजार बिरुवा बेचे यसवर्ष उनले । अब उनको २ लाख बिरुवा बेच्ने योजना छ । जिल्ला कृषि विकास कार्यालयले नै ५० हजार बिरुवा किनिदिने भएपछि उनको झन खुसीको सीमा नै रहेन । ‘अलैँचीको बिरुवा बेच्नका लागि कुनै समस्या छैन । बजार प्रशस्तै छ उत्पादनचाहिँ गर्न सक्नुप¥यो’ लहलह बिरुवा देखाउँदै मनोजले भने, ‘मेरो शिक्षक जागिरबाट आउने तलबभन्दा यो बिरुवा बेचेर बढी पैसा प्राप्त हुने रहेछ ।’

४ रोपनीबाट नर्सरी राख्न थालेका मनोजले गत सालदेखि १५ रोपनी क्षेत्रफलमा अलैँचीको नर्सरी राखेका छन् । घरपरिवारका अलावा आवश्यकता परेको बेला अरू मान्छे (श्रमिक) थप्ने गरेको राईले बताए । मनोजको भविष्यमा ठूलो नर्सरी फार्म बनाउने योजना छ । नर्सरीका चुनौतीहरू पनि छन् बिरुवा किराले खाने, माटो तथा वातावरणको परिर्वतनले गर्दा पनि कृषि पेसामा चुनौती थपिएको छ ।

 ‘मेरो नर्सरी हेर्न एलडिओ गिरिराज ज्ञवाली, सहायक सिडिओ कृष्णबहादुर बस्नेत, कृषि विकास कार्यालयका प्रमुख कमलेस तिवारीलगायत जिल्लाका उच्च व्यक्तित्वहरू आएका थिए’ अहिलेसम्ममा सबैभन्दा खुसी लागेको सो दिन सम्झँदै उनले भने, ‘हामी किसानका घरमा पनि ठूला मान्छेहरू आउँदा रहेछन् ।’ १५ रोपनीमा मकै लगाउँदा खानसमेत नपुगेको उनी सम्झन्छन् । काममा त्यतिकै समस्या, मान्छे नपाइने समस्या रहेकामा नर्सरीमा ती केही नभएको उनले बताए । ‘नर्सरीमा काम कहिले टुट्दैन २ सय गुणा आन्दानी हुने भएको विदेश गइराख्नु नपर्ने उनको अनुभव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार