नयाँ बुलन्द
पाँचथर : संघीय समाजवादी फोरम नेपाल आउँदो प्रदेश र संघीय संसद्को निर्वाचन लक्षित कार्यक्रममा सकृय बन्न थालेको छ ।
प्रस्तावित लिम्बुवान प्रदेश अन्तर्गत पाँचथरमा विभिन्न राजनीतिक प्रशिक्षण सुरु गर्दै ससफो नेपालले निर्वाचन केन्द्रीत चहलपहल बढाएको हो ।
ससफो नेपालले हालै पान्थरको याङवरक गाउँपालिका र हिलिहाङ गाउँपालिकामा आसन्न निर्वाचनलाई लक्षित गरेर पार्टी प्रशिक्षण सम्पन्न गरेको ससफो नेपाल पाँचथर जिल्ला अध्यक्ष देउमान आङ्देम्बेले जानकारी दिए ।
उनका अनुसार बिहीबार र शुक्रबार आयोजित प्रशिक्षणहरुमा पार्टीका केन्द्रीय परिषद सदस्यद्वय मलिसा याक्थुङ्बा र राजेन्द्र जबेगु, लिम्बुवान प्रदेश राजनीतिक समिति सद्स्य कमन देवान लगायतले पार्टीले आगामी चुनावमा खेल्नुपर्ने भूमिका बारे प्रशिक्षण दिएका हुन् ।
त्यस्तै चुनावी अभियान तीव्र पार्ने क्रममा शनिबार फिदिममा विध्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको समाजवादी विध्यार्थी फोरमका केन्द्रीय सचिवालय सदस्य रुद्र सुब्बाले जानकारी दिए । सुब्बाका अनुसार फिदिम माविमा हालै संगठित विध्यार्थीहरुलाई अबको चुनावी माहोलमा परिचालित गर्न प्रशिक्षित गरिएको हो
लिम्बुवान प्रदेश विध्यार्थी प्रमुख समेत रहेका कमन देवानले संगठनमा आवद्ध विध्यार्थी शक्ति पार्टीको विचार बोकेर जनतासम्म पुर्याउने हल्कारा भएको बताए । उनले भने भने ‘जसरी बिगतमा सिङ्गो मुलुकका जनताको विश्वसनीयता र गोपनीयता हुलाकका हल्काराहरुमा थियो, अहिले ससफोले विध्यार्थी शक्तिलाई त्यस्तै जिम्मेवार शक्तिका रूपमा परिचलित गर्ने सोच बनाएको छ । त्यसैले तपाईंहरु तयार हुनुहोस् ।’
निर्वाचन लक्षित थप राजनीतिक कार्यक्रम तयार गरि जिल्ला दौडाहामा लागिने ससफो पान्थर अध्यक्ष आङ्देम्बेले जिकिर गरे । केन्द्रीय परिषद सदस्य याक्थुङ्बाले अब ससफो नेपालले सांस्कृतिक पुँजी र सांस्कारिक पुँजी निर्माण गर्दै जातीय, लैंगिक, भाषिक, आर्थिक, धार्मिक आदि संघीय समाजहरुको विकास गर्नुपर्नेमा जोड दिए
उनले संघीय समाजवादलाई सफल नपारेसम्म मुलुक राजनीतिक र आर्थिक रूपले कमजोर भइरहने दावी गरे ।