नयाँ बुलन्द
झापा : कुमार लिङदेनले नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका केन्द्रीय सदस्यसहित इलामका ५० बढी कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
मञ्चकी केन्द्रीय सदस्य रीपल राईको नेतृत्वमा उनीहरु बुधबार संघीय समाजवादी फोरम प्रवेश गरेका हुन् । झापाको विर्तामोडमा आयोजित प्रशिक्षण कार्यक्रममा उनीहरुलाई पार्टीका वरिष्ठ एवं संसदीय दलका नेता अशोक राईले स्वागत गर्दै पार्टी प्रवेश गराइएका हुन् ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा इलाम इन्चार्ज राईसँगै जिल्ला उपाध्यक्षद्धय गोपाल लिम्वू र फूलमाया फेजोङ नेम्वाङ, सचिवालय सदस्यद्धय जुनु राई, कुसुम लोक्ताम, अशोक घिमिरे, सृजना राई, रत्न मगर, इलाम नगरपालिका उपाध्यक्षद्धय शान्त योङ्हाङ र उर्मीला राई लगायत रहेका छन् ।
उनीहरुले लिम्बुवान मञ्च नेतृत्वले सहि बाटो हिँड्न नसकेको र ब्यक्तिवादी चिन्तनबाट पार्टी चलाउन खोजिएको र पार्टीलाई नेतृत्वले आर्थिक चलखेल गर्ने श्रोत समेत बनाएको आरोप लगाउँदै सेमबार एक विज्ञप्ती जारी गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी पारित्याग गरेको घोषणा गरेका थिए ।
पछिल्लो समयमा संघीय समाजवादी फोरममा प्रवेश गर्ने लहर नै चलेको छ । यसअघि मंगलबार मात्र झापा र धनकुटाका गरी करिब तीन सय बढी विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।