नयाँ बुलन्द
इलाम : विभिन्न माग सहित सामाजिक परिचालक हकहित संरक्षण केन्द्र जिल्ला तदर्थ समिति इलामले स्थानिय विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी मार्फत बुधबार तदर्थ समितिले सो ज्ञापन पत्र बुझाएको हो । स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडीपी) का सामाजिक परिचालकहरुलाई स्थानिय तहमा सामाजिक विकास शाखा कायम गरि एक पटक उमेरको हद नलाग्ने गरि दरवन्दी सिर्जना गरिनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै सामाजिक परिचालकको योग्यता तह अनुसार पारिश्रमिक, दुर्घटना बीमा, उपचार लगायतका सुविधाहरुको ब्यवस्था गरिनु पर्ने उनीहरुले माग गरेका छन् । २०६६ साल देखी सात हजार पारिश्रमिकमा काम गर्न थालेका उनीहरुको हाल १२ हजार पुर्याइए पनि त्यसले जिवनयापनमा पर्याप्त नभएको उनीहरुको दुखेसो छ ।
जिवन निर्वाहले मात्र उर्वर जीवनको अमुल्य श्रण खर्च गरिरहेको उल्लेख गर्दै यथाशक्य माग कार्यान्वयन गराउन समेत सम्वन्धित निकायको धायानकर्षण गराइएको छ । इलाम सहित देशका पचहत्तर जिल्लाबाट नै उनीहरुले बुधबार ज्ञापन पत्र बुझाएका छन् ।
सामाजिक परिचालक हकहित संरक्षण केन्द्र तदर्थ समिति, इलामका अध्यक्ष पूर्ण लुङ्गेलीले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । ज्ञापन पत्र बुझाउन प्रदेश समिति सदस्य राधाकृष्ण पौड्याल जिल्ला अध्यक्ष लुङ्गेली सचिव नारायण श्रेष्ठ लगायत जिल्लाका सामाजिक परिचालकहरुको उपस्तिथी रहेको थियो ।