लिम्बुवानबारे पुस्तक लिएर आए श्रीप्रसाद

मणिकुमार श्रेष्ठ

नेपाली राजनीतिमाथि पुस्तक लेख्ने तथा विभिन्न लेखहरू लेख्ने परिपाटी विगत लामो समयदेखी रहिआएको छ। नेपालको राजनीतिमा र साहित्यमा समेत राम्रो दखल भएका वीपी कोइरालाको नाम यस्ता पुस्तक र लेख लेख्नेमा अग्रपंक्तिमा आउने गर्छ। उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन् ।

यसरी नेपालको राजनीतिको उचाइमा पुगेका धेरैजसो नेताले विभिन्न प्रकारका पुस्तकहरू लेख्ने गरेका छन्। यसरी पुस्तक लेख्नेहरूमा प्रजातान्त्रिक नेताहरू भन्दा पनि कम्युनिष्ट नेताहरू बढी रहेका छन्। नेपालको कुरा गर्ने हो भने नेपालका नाम चलेका कम्युनिष्ट नेताहरू प्रायः सबैले विभिन्न विधामा आफ्ना कृतिहरू प्रकाशन गरेका छन्, जसलाई उनीहरूले दर्शनशास्त्रका किताबका रूपमा चिनाउने गरेका छन् ।

यसरी पुस्तकहरू लेख्ने नेताहरूको भीडमा पछिल्लो समय नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पूर्व राज्यमन्त्री श्रीप्रसाद जवेगु पनि थपिएका छन्। उनले आफ्नो पुस्तक लिम्बूवान लिएर आएका छन्। यसो भनिरहँदा नेकपा माओवादीले सञ्चालन गरेको भीषण जनयुद्धमा आफूलाई समाहित गराएर अरुणपूर्वका जिल्लाहरूलाई लिम्बूवान हुनुपर्दछ भन्दै लिम्बू समुदायलाई अग्रसर बनाउँदै आएका सांसद श्रीप्रसाद जवेगुले नेपालको संविधानमा लिम्बूवान राज्यको प्रत्याभूति दिलाउन नसके पनि उनले आफ्नो कृतिमार्फत् लिम्बूवान लिएर आएको बताए।

समाज बदल्नका लागि पुस्तकको अध्ययन अनिवार्य रहेको बताउने जवेगु आफूले पुस्तक कुनै व्यावसायिक तवरबाट नलेखेको बताउँछन्। उनी आफूलाई व्यावसायिक लेखक नभएको भन्न रुचाउँछन्। २०७० सालमा भएको संविधानसभाको निर्वाचनबाट समानुपातिकतर्फका सभासद बनेको माओवादी नेता जवेगु संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री बनिसकेका छन्। यसरी संविधानसभामार्फत् जनताको अधिकार स्थापित गराउने र आत्मनिर्णयको अधिकारसहितको लिम्बूवान राज्य बनाइछाड्ने अठोट गरेर माओवादी आन्दोलनमा होमिएर लिम्बू समुदायबाट यो तहसम्म पुगेको नेता जवेगुले किन ल्याए त लिम्बूवान नामको पुस्तक?

उनकै भनाइलाई सापटी लिने हो भने लिम्बूवान प्राप्तिका लागि धेरैले बलिदानी दिएका छन् अनि उनीहरूको योगदान भने अहिले नेपाली समाजमा नगण्य रूपमा रहेको छ। ‘वास्तवमा भन्ने हो भने हामीले लिम्बूवान भनेको नै के हो भनेर बुझाउन सकेनौँ, जसका कारण लिम्बूवान लिम्बू जातिमा सीमित हुन गयो’, उनी भन्छन्, ‘साँच्चै भन्ने हो भने लिम्बूवान भनेको लिम्बूवानी भूमिमा बसोवास गर्ने सबै समुदायको साझा पहिचान हो।’

सायद त्यही भएर हो जवेगुले आफूले प्रकाशन गरेको पुस्तक लिम्बूवान भए पनि पुस्तकको पूरा नाम भने ‘लिम्बूवान : लिम्बू कि लिम्बूवानवासीको?’ राखेका छन्।

लिम्बूवानमा श्रीप्रसाद

लेखक श्रीप्रसाद जवेगुले आफ्नो कृति ‘लिम्बूवान : लिम्बू कि लिम्बूवानवासीको?’ नामक पुस्तकको भूमिकामा यसरी बहकिएका छन्– ‘जीवनमा भोगिएका अनगिन्ती तीतामीठा अनुभूतिहरू छन्। हाम्रा परिवारमा म जन्मेको बेला दुःख भए पनि आमाबुबाको कठोर परिश्रमले मैले थाहा पाउँदा आर्थिक रूपले ठीकै थियो। गाउँघरको तुलनामा हाम्रा परिवारले एक छाक खान पुर्‍याउँथ्यो। जब घरको मुली बुवाको मृत्यु भयो हामी ससाना भएकाले शब्दमार्फत् व्यक्त गर्न असमर्थ हुनेगरी हाम्रो परिवारको एक्कासि दुःख आइलाग्यो। यतिसम्म कि टुक्राटुक्रा भएर हाम्रो परिवार पूरै विघटनको अवस्थामा पुग्यो। त्यतिखेर विघटन भएको परिवार अहिलेसम्म पनि जुट्न सकेको छैन। तिनै असंख्य दुखद् क्षणहरूलाई मौखिक रूपमा भन्न जति सजिलो छ, शब्दमा उतारेर कागजको पानामा कैद गर्न त्यति नै कठिन हुँदोरहेछ …।’

पूर्व राज्यमन्त्री जवेगुले आफूले भोगेका तीतामीठा अनुभूतिहरूलाई पुस्तकका रूपमा विभिन्न स्वरूप दिएर उजागर गर्ने प्रयास गरेका छन्। उनले आफूले भोगेको जीवनको विभिन्न संघर्षलाई आत्मकथाको रूपमा ‘घरपरिवार र राजनीतिमा’ भित्र विभिन्न शीर्षकमा समेटेका छन्। यसैगरी ‘प्रेम र जीवन’ अनि माओवादी आन्दोलनमा समाहित भएको बेलादेखिको अनुभूतिलाई ‘जनयुद्ध’ भाग दिएर विभिन्न चरणका व्याख्या गरेका छन्।

त्यसैगरी सांसद भइसकेपछिको अनुभूतिलाई उनले ‘संविधान र महाभूकम्प’ शीर्षक दिएर सविस्तार उल्लेख गरेका छन्। अन्त्यमा, जवेगुले जातीय मुक्ति र लिम्बूवान आन्दोलनको बारेका ‘जातीय मुक्ति र लिम्बूवान’ शीर्षक दिएर विस्तारमा प्रष्ट्याउने प्रयास गरेका छन्।  छुट्टै

पहिचान भएको पुस्तक लिम्बूवान

धेरैले पुस्तकहरू व्यावसायिक तवरबाट लेखेका हुन्छन्। त्यसरी व्यावसायिक तवरबाट पुस्तक लेख्नेहरूको तुलनामा लेखक जवेगुले आफ्ना पुस्तकहरूको प्रचारप्रसार कमै मात्र गर्ने गरेका छन्। आफ्ना पुस्तकको खासै प्रचार नगरे पनि लामो समयको काठमाडौँ बसाइपछि अहिले उनी १ नम्बर प्रदेशमा पार्टीको काममा खटिने भन्दै पूर्वी नेपालको धरान आइपुगेका छन्। उनको धरानमा रहेको कोठामा पुग्दा उनी सामान्य अवस्थामा थिए। उनले ‘भाइ, मैले निकालेका पुस्तक यिनै हुन् है’ भन्दै कोठाको र्‍याकमा रहेका पुस्तक देखाए। र्‍याकमा ५० प्रतिजति पुस्तक थिए सायद !

श्रीप्रसाद जवेगुले लेखेको पुस्तकमा विभिन्न समयमा लेखिएका २२ वटा लेख तथा संस्मरणहरूलाई एकीकृत रूपमा समेटेर पुस्तकको रूपमा उतारेका छन्। यस पुस्तकलाई बहुआयामिक विधाको पुस्तकका रूपमा लिन सकिन्छ। यसमा जवेगुको जीवनी, उनको दर्शनप्रतिको लगाव, आफ्नो समुदायप्रतिको प्रेरणा र विभिन्न समयमा गरिएका अनुभूतिहरू अध्ययन गर्न पाइन्छ।

पुस्तकमा समेटिएका केही रोचक खुराक

नेपालको बागडोर मानिएको सिंहदरबारमा प्रवेश गरेर १० महिना राज्यमन्त्री बनेका थिए जवेगु। देशको नीति निर्माण गर्ने थलोको रूपमा चिनिएको व्यवस्थापिका संसद सदस्यसमेत रहेका माओवादी नेता श्रीप्रसाद जवेगु पहिले कुनै साहुकोमा काम गरेर जीविका चलाउँथे। उनले आफ्नो कृतिको ‘चुङ्वाङमा घरेलु कामदार हुँदा’ शीर्षकको संस्मरणमा यसबारे छर्लङ्ग बताएका छन्। यसैगरी आफूले सानोमा कुखुरा चोरेको र कुखुरा चोर्दा तात्कालीन प्रधानपञ्चको पिटाइसमेत खाएको कुरा उनले ‘घरपरिवार र राजनीति’ खण्डमा विस्तारमा उल्लेख गरेका छन्। यस खण्डमा उनको घरपरिवार र राजनीतिको अवस्थाका बारेमा जानकारी लिन सकिन्छ।

यसैगरी उनले आफ्नो जीवनमा प्रेमको अनुभूतिलाई समेत सरस तरिकाबाट उतारेका छन्। उनकी प्रेमिकाले पठाएको पत्रको केही सारांश ‘म नभएको बेला यही १२ गते मेरो मगनी भएछ। १४ गते म घर आइपुगेँ। २९ गते दुलही भएर जाँदै छु। ३० गते मेरो विहे हुँदै छ। तपाईं जसरी भए पनि २८ गते १० बजे फिदिम बजारमा आउनुहोला। जेसुकै होस्, त्यहीँबाट भाग्नुपर्छ। यदि २८ गते आउनुभएन भने मसँग गुनासो नगर्नु होला।’

यसरी मंसिरमा लेखिएको पत्र जवेगुले २० दिनपछि पुस ५ गते मात्र पाए। पत्र उनका हातमा पर्दा सम्पूर्ण काम तमाम भइसकेको थियो। यसरी जवेगुले आफ्नो प्रेमलाई निकै मार्मिक ढंगले प्रस्तुत गरेका छन् पुस्तकमा।

त्यसैगरी लेखकले आफ्नो कृति लिम्बूवानमा माओवादीले जनयुद्ध सुरु गर्नुभन्दा अगाडि आफू नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पाँचथर अध्यक्ष भएकोदेखि लिएर माओवादी जनयुद्धमा समाहित भएपछिका विभिन्न कालखण्डको अनुभूतिलाई ‘जनयुद्ध’ खण्डमा समावेश गरेका छन्। यस खण्डमा लेखकले पार्टीमा आवद्ध भएकोदेखि लिएर विभिन्न मोर्चामा समावेश भएको अनुभूतिलाई यसरी उल्लेख गरेका छन् कि जसलाई अध्ययन गर्दासमेत आफैँ जनयुद्धमा सहभागी भएजस्तो महसुस हुन्छ। लेखक जवेगुले आफ्नो कृतिमा मन छुनेगरी विस्तारै विस्तारै चर्चा गरेका छन्। यो पुस्तक निकै मार्मिक र सबैको मन छुने खालको छ।

लिम्बूवान: लिम्बू कि लिम्बूवानवासीको ? 

यसरी राज्यको माथिल्लो निकायमा पुगेको व्यक्तिले विभिन्न कोणबाट आफ्नो जीवनीमा आधारित पुस्तक प्रकाशन गरेका व्यापार गर्दै आएका छन्। तर, लेखक जवेगु यसको विरोध गर्छन्, ‘कुनैकुनै पुस्तक व्यावसायिक किसिमका हुन्छन् तर सबै पुस्तक व्यावसायिक बन्न सक्दैनन्। त्यही भएर मैले प्रकाशन गरेको पुस्तक अहिलेसम्म विमोचन गरेको छैन।’

एक हजार प्रति प्रकाशनमा ल्याएपछि त्यसलाई एउटा कीर्ति राख्न सफल भएको उनी बताउँछन्। ‘मेरा विचारहरूलाई पाठकहरूले अध्ययन गर्न पाएका छन्, यसमा नै म खुसी छु’, जवेगु भन्छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार