चुनावमा भाग लिनका लागि ९५ वटा दल दर्ता

काठमाडौं : मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका भाग लिनका लागि ९५ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको निवेदन दिने अन्तिम दिन आइतबार नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका १९ वटा दलले निवेदन दर्ता गराएका निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिए ।

संविधान संशोधनविना चुनावमा जान नमानेको राष्ट्रिय जनता पार्टी राजपा लगायतका तराइ मधेस केन्द्रित सबै ठुला दलले पनि दल दर्ताको लागि निवेदन दिएका छन् । दल दर्ताका लागि निवेदन दिएका दलहरुमध्ये संविधानको धारा २ सय ६९ मा व्यवस्था भएअनुसार कागजात पेश गरेर निवेदन दिएका दल मात्रै आयोगमा दर्ता हुने र ती दलले मात्र अबको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा भाग लिन पाउने उनले जानकारी दिए ।

निवेदन दिएका दलहरुले संविधानमा तोकिएको मापदण्ड पुरा गरे/नगरेको बारेमा छानविन समितिले अध्ययन गर्ने र मापदण्ड पुरा गरेका दल मात्रै आयोगमा दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

संघीय कानुन अनुसार दलको घोषणापत्र र विधान हुनुपर्ने, हरेक ५ बर्षमा दलका पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने, देशको साम्प्रदायिकतमा असर पार्ने खालको विधान नभएको लगायतका मापदण्ड पुरा गरेका दललाई दर्ता गरेर चुनाव चिन्ह दिने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले दलहरुको निवेदन भदौ २५ गतेसम्म छानविन गर्न निर्देशन पनि दिनुभएको छ । यसअघिको स्थानीय तहको चुनावमा भाग लिन ८० वटा दल दर्ता भएकोमा ६३ वटा दलले मात्रै चुनावमा भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार