व्यवसायिक तरकारी व्यापारबाट आत्मनिर्भर बन्दै महिला

सुजता सुनुवार

इलाम : इलाम नगरपालिका २ की विष्णुमाया खड्का क्षेत्रीलाई अहिले परिवार व्यक्तिगत खर्चका लागि कसैको हात थाप्नु पर्दैन । ३० वर्ष अघि दुई÷चार सयका लागि पति र माइतीको भर पर्नुपर्ने उनलाई अहिले कुनै समस्या छैन । व्यवसायिक रुपमा तरकारी खेतीसँगै व्यापार गर्दै आएकी क्षेत्रीले सदरमुकामस्थित सेरामा घडेरी किनेर दुईतले पक्की घरसमेत बनाइसकेका छन् ।

उनी भन्छिन्, ‘३५ वर्ष भयो निरन्तर यही पेशामा सक्रिय छु ।’ ७१ वर्षीया क्षेत्री घरमा फोकट्या बस्नु भन्दा व्यापार गर्नुमा नै मन रमाउने बताउँछिन् । अर्काको घरमा भाडामा बसेर जीविकोपार्जन गर्दै आएकी उनले दुई हजार रुपैयाँबाट तरकारी व्यापार सु गरेकी थिइन् । ‘व्यवसायिक तरकारी व्यापारबाट भएको आम्दानी आफूले घरखर्च मात्रै होइन, बचत समेत गर्दै आएको छु’ क्षेत्री भन्छिन्, ‘जुनसुकै काममा पनि निरन्तरता दिए सफलता प्राप्त हुने रहेछ । कमाउन थालेपछि परिवारका सबैमा खुसियाली छाएको छ ।’

विगतका सफल कृषक क्षेत्री अहिले तरकारी व्यापारमा मात्र व्यस्त बन्न थालेकी छिन् । आफू वार्षिक रुपमा दुईदेखी तीन लाखसम्म कमाउन सफल भएको क्षेत्री बताउँछिन् ।

यसरी व्यवसायिक तरकारी व्यापारबाट आफ्नो जीवनस्तरमा परिवर्तन गर्ने क्षेत्री मात्रै होइन, उनी जस्ता धेरै महिलाले आयआर्जनका लागी तरकारी व्यवसायलाई रोजेका छन् । माइजोगमाई ५ सोयाङकी लक्ष्मी घिमिरे राई आफू तरकारी व्यवसायबाट नै आत्मनिर्भर भएको बताउँछिन् । १० हजारबाट सुरु गरेको व्यवसायिक तरकारी व्यवसायबाट अहिले ७० हजारसम्मको कारोबार हुने गरेको उनको भनाई छ ।

व्यवसायिक तरकारी व्यापारबाट भएको आम्दानीले पारिवारिक खर्च टार्न र बचत गर्न सकिएको राईले बताइन् । ‘विदेश जान तयार बनेका पति विश्वासिलो काम नभएकाले नेपालमा नै बस्नुभयो । अहिले उहाँ गााउँमा तरकारी उत्पादन गरेर बजारसम्म ल्याइदिने गर्नुहुन्छ’ राईले भनिन्, ‘म भने नानीहरुलाई पढाउँदै नगरपालिकाको यो बजार क्षेत्रमा तरकारी व्यवसाय गर्छु ।’

एकाविहानै डोकोमा तरकारी र हातमा दूधका क्यान बोकेर नँयाबजारका घर, पसल पसलमा आफैँ बिक्री गर्दै आएकी राई जिल्लाकी सफल महिला कृषक समेत हुन् । उनले भनिन्, ‘विचौलियालाई दिनु भन्दा आफै खटेर व्यवसाय गर्दा निक्कै फाइदा हुन्छ भन्ने थाहा पाएपछि  व्यवसायिक तरकारी व्यवसाय सुरु गरेँ ।’ अहिले राईले करिब सात लाख भन्दा बढीको सम्पत्ति जुटाइसकेकी छिन् ।

सदरमुकाममा नै चारआनाको घडेरी समेत किनिसकेकी राई भिन्छन् ‘मिहिनेत गर्न सके र तरिका पुर्याउन जान्ने हो भने वार्षिक चार÷पाँच लाख कमाउन विदेशको खाडीमा जानै पर्दैन । आफ्नै वरिपरिको करेसाबारी खेतबारी र गाउँठाउँमा नै लाखौँ रुपैयाँ कमाउन सकिन्छ ।’

धेरै पढ्नै पर्छ भन्ने अनिवार्य पनि नभएको उनी बताउँछिन् । ‘म ५ कक्षा पढेको व्यक्ति मलाई लाखौँ करोडौँको हिसाबकिताबमा समेत कसैले झुक्याउन सक्दैनन् । हामीलाई व्यवहारिक ज्ञानले पनि स्ववलम्बी बन्न सिकाएको छ ।’ राईले वार्षिक तीन लाख भन्दा बढी आम्दानी गर्ने गरेको समेत बताइन् ।

यसैगरी सन्दकपुर गाउँपालिका १ की जुनिता राई पनि व्यवसायिक तरकारी व्यवसायमा सफल हुन संघर्ष गरीरहेकी छिन् । छ सयबाट सुरु गरेको राई व्यापार अहिले ४० हजारसम्मको कारोबार गर्ने गरेको छ ।  मिहेनत गर्नसके सानो व्यापार व्यवसायले नै ठूलो व्यवसायी बन्न सकिने बताउँदै राईले व्यापार सुरु गरेको एक वर्षमा नै राम्रो सफलता मिलेकोले यसैमा भविष्य देख्न थालेको राई बताउँछिन् । यी त उदाहरण मात्र हुन् । सयांै महिला अहिले व्यवसायमा आवद्ध भई राम्रो कमाई गर्न थालेका छन् ।

करिब ८ वर्षयताबाट इलाम बजारको बेग्लै स्थानमा तरकारी व्यवसायीहरुका लागि बजार लाग्ने गरेको छ । साताको विहिबार र आइतबार बजार लाग्ने भएकोले हिँड्नै हम्मेहम्मे पर्ने गरीको घुइँचो हुन्छ । बजारमा अहिले पुरुषको संख्या भन्दा महिलाको संख्या दोब्बर छ । धेरै महिला व्यवसायिक तरकारी व्यवसायमा संलग्न हुन थालेका छन् । तरकारी व्यापारका लागि सदरमुकाममा ७ रोपनी चार आना एक पैसा क्षेत्रफल इलाम नगरपालिकाले छुट्याइदिएको इलाम नगरपालिका कार्यलय इलामका सुचना अधिकारी सीतादेवी खवासले जानकारी दिइन् ।

जिल्लाका सोयाङ्ग, नाम्सालिङ्ग, गोदक, माइपोखरी, जमुना, सुम्बेक, सुलुबुङ्ग, नेपालटार, चमैता लगायत जिल्ला बाहिरका जिल्ला झापा र पाँचथरका महिला व्यवसायिक तरकारी व्यवसायमा लागेका व्यवसायीहरु बताउँछन् । ती क्षेत्रबाट लाखौका तरकारी सदरमुकाममा भित्रिने गरेको छ ।

मौसमी र बेमौसमी तरकारी खेतीका सथौ व्यापारबाट आयस्तर बढेसँगै महिला सशक्तीकरणमा समेत सघाउ पुगेको सरोकारवालाको भनाई छ । आयआर्जनको बलियो माध्यम तरकारी व्यापार बन्दै गएकाले महिला हिंसा समेत कम भएको बताइन्छ । तरकारी व्यवसायका लागि बेग्लै बजारको व्यवस्था भएका कारण जिल्लामा व्यवसायिक तरकारी व्यवसायमा महिलाको आकर्षण बढ्दै गएको छ । व्यवसाय गरीरहेकाको लागी व्यवस्थित व्यापारिक स्थल बनाउन थप पहल गर्ने योजना रहेको इलाम नगरपालिकाका नवनिर्वाचित  जनप्रतिनिधिहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार