काठमाडौं : राप्रपा प्रजातान्त्रिकले दल दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर बुझाएका दुई सांसदसहित ९ केन्द्रीय सदस्यले आफूहरु राप्रपामै रहेको बताएका छन् । ९ जना आफ्नो पक्षमा रहेसँगै पशुपति समशेर राणा पक्षमा ४० प्रतिशत नपुगेको बताउँदै राप्रपाले दल दर्ताको विरोध गरेको छ ।
राप्रपा नेतृत्वले शुक्रबार ९ जनालाई उपस्थित गराएर पत्रकार सम्मेलन गरेको छ । संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सांसद राजेश्वरीदेवी साह र लिलादेवी श्रेष्ठका साथै केन्द्रीय सदस्य प्रहृलादप्रसाद साह, विन्दा गिरी, सविना साह, रेणु साह, निरञ्जन थापा, दिलविकास राजभण्डारी र डा.भीमसेन गुरुङ उपस्थित थिए ।
यससँगै राप्रपा प्रजातान्त्रिकको पक्षमा दल बिभाजनका लागि आवश्यक केन्द्रीय कमिटीका ४० प्रतिशत नपुग्ने राप्रपाको दाबी छ । रापप्रपा अध्यक्ष कमल थापाले भने, ‘४० प्रतिशत नपुग्दा नपुग्दै एकलौटी र हचुवाको भरमा निर्वाचन आयोगले दल दर्ता गरेको छ ।’
उनले राप्रपा प्रजातान्त्रिकको दल दर्ता गर्दा संविधान र सर्वोच्चको आदेशको पालना नभएको दाबी गरे । साथै त्यसविरुद्ध आइतबार सर्वोच्च जाने जानकारी दिए । उनले भने, ‘निर्वाचन आयोगले हचुवा र जबर्जस्ती ढंगबाट पार्टी बिभाजनलाई औपचारिकता दिने काम गरेको छ ।
बिभाजनको निम्ति ४० प्रतिशत नपुगेकाले यो कानुन र संविधान सम्मत छैन । कानुनी उपचारको निम्ति सर्वोच्चको ढोका ढकढकाउन जानेछौं ।’
पत्रकार सम्मेलनमा उपस्थित नेताहरुले भने आफूहरु पार्टी विभाजनको पक्षमा छैनौं भन्दाभन्दै विभाजनको बिल्ला भिराउने काम भएको गुनासो गरे ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापा यो आफ्नो पार्टीको मात्र प्रश्न नभएको समेत बताए । केही मानिसले कीर्ते हस्ताक्षर गरेर दल दर्ताको निवेदन दिने र आयोगले सनाखत नै नगरी दर्ता गर्ने नजिर बस्यो भने अरु पार्टी पनि यो रोगको शिकार हुने उनको चेतावनी छ ।
-अनलाइनखबरबाट