नेपाली नारीहरुको एउटा महत्वपुर्ण र विशेष पर्व हो तीज। पहिले पहिले हिन्दु नारीहरुको पर्वका रुपमा लिइने तीज पछिल्लो समय सबै जाति र समप्रदायले उतै हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ। तीजलाई हरितालिका हरित (हरण गरिएकी) आलिका (शखिद्वारा) अर्थात शखिहरुद्वारा हरण गरिएकि पार्वतिले गोप्य स्थानमा गरिएको उपवास (व्रत) हरितालिका तीज भनिएको हिन्दु धर्मग्रन्थहरुमा पाइन्छ।
याे पर्व भाद्र शुक्ल तृतीया देखि पञ्चमी सम्म मनाइन्छ। तीज ब्रतको अघिल्लो दिन माइतीले आफ्ना चेलीहरुलाई घरमा ल्याइ मिठो मसिनो खुवाउने र दु:खसुखका भावनाहरु साटसाट गरि सँगै बस्ने र भोलिपल्ट तृतीयाको दिन ब्रत बस्ने गरिन्छ। भोलि पल्ट निराहार ब्रत बस्ने हँदा अघिल्लो रात बिभिन्न प्रकारका पौष्टिक आहारहरु खाइन्छ। यसरी खाइने खानेकुरालाई दर भन्ने गरिन्छ।
हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयकले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिन लाग्दा उक्त कार्य पार्वतीलाई मन नपरेपछि आफुले मन पराएको वर पाउन जंगलमा गएर लामो तपस्या गर्दा पनि आफ्नो तपस्याको फल नपाएको भन्दै एक दिन उनले शिवलिङ्ग स्थापना गरि पानी पनि नपिइकन निराहार ब्रत बसिन। यसरी कठोर ब्रत बसेको देखि शिवजी खुसी भइ मनोकाङ्क्षा पुराहोस भनि आशिर्बाद दिएपछि शिवजी र पार्वतीको विहे भएको र त्यसै दिनबाट तीज पर्वको प्रारम्भ भएको भन्ने किंवदन्ती रहेको पाइन्छ।
तीजको बिशेष महत्व भनेको आफ्नो श्रीमानको दिर्घायुको कामना गरि निराहार ब्रत बस्नु भन्ने रहेको पाइन्छ। अविवाहित नारीहरुले तीजको ब्रत बसे असल पति पाउने र विवाहित नारीहरले तीजको ब्रत बसे आफ्नो श्रीमानको लामो आयु हुने र कुनै पनि रोगव्यध बाधा अवरोध नआउने धार्मिक मान्यता रहेको छ।
तर पछिल्लो समय नेपाली चाडपर्वलाई आधुनिक संस्कारले गाँज्दै आएको छ । हरेक चाडपर्वलाई आधुनिकताले थिचिरहेको छ र मौलिकता हराउँदै गएको छ। चाडपर्वको अस्तित्व संकटमा पर्दै गएको छ। पछिल्लो समय तीज पनि भड्किलो र तडकभडक पुर्ण बन्दै गएको छ। भाद्र शुक्ल तृतीयाका दिन बिशेष महत्व बोकेर आउने तीजको महत्व विस्तारै घट्दै गएको पाइन्छ। पछिल्लो पुस्तालाई ब्रत धर्म कर्म भन्दा पनि मोज मस्ती र रिल्याक्सको अवसर बन्दै छ तीज ।
महिनौ अघिदेखि महिनौ पछिसम्म मनाइन थालेको छ। दरको सट्टा मादक पदार्थ र ब्रत र नाचगानको सट्टा जुवातासमा रमाउन थालेको छ नेपाली समाज गाउँघरमा तीजको मौलिकता कायमै रहेको भए पनि सहर बजारमा भने तडक भडक बस्त्र आभुषण प्रदर्शनी र अश्लिलता तर्फ अघि बढ्दै छ तीज पर्व। मौलिकता र दुःख सुखका गितको सट्टा उताउलोपना बढ्दै गएको छ। मठ मठमन्दिरहरु सुनसान बन्न थालेका छन भने तरे होटल, डान्सबार र रेस्टुँरामा बन्दै छ तीज ।
भन्नलाई त भन्छौँ हामी ” नेपाल कला संस्कृति र चाडपर्वको महासागर हो” तर दिनप्रतिदिन त्यो महासागर सुक्दै छ र हामी नाङ्गिँदै छौ आफ्नो पहिचानबाट। भुल्दै छौँ हामी हाम्रा पहिचान र मौलिकता अनि पार्दै छौ हाम्रा कला संस्कृति र चाडपर्वलाई संकटमा । तसर्थ आजैबाट सोचौँ र जुटौँ सबै मिलि आफ्ना पहिचान र संस्कृतिको रक्षा गर्न। समपुर्ण आमा दिदी बहिनीमा तिजको हार्दिक शुभकामना।