राम योङहाङ
इलाम : इलाममा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रमअन्तर्गत १७ हजार ६ सय १ जना मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सोमध्ये ८ हजार ६ सय ८६ महिला र ८ हजार ९ सय १५ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कृष्णकुमार लिम्बूले जानकारी दिए । निर्वाचन आयोगले १ देखि १५ साउनसम्म जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो । सो क्रममा १ हजार ३ सय ८९ महिला र १ हजार ४ सय ३६ पुरुषगरी २ हजार ८ सय २५ जनाले नाम दर्ता गरेका थिए ।
आयोगले म्याद थपगरी १६ साउनदेखि ३ भदौसम्म सम्बन्धित स्थानीय तहमा नै कर्मचारी खटाएर मतदाता नामावली संकलन तथा अध्यावधिक गरेको थियो । सो क्रममा ७ हजार २ सय ९७ महिला र ७ हजार ४ सय ७९ पुरुषगरी १४ हजार ७ सय ७६ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये सबैभन्दा बढी सूर्योदय नगरपालिकामा २ हजार ८ सय ५० र कम सन्दकपुर गाउँपालिकामा ५ सय ५८ जनाले नयाँ नाम दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
योसँगै इलाममा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या २ लाख १० हजार ९ सय ५ पुगेको छ । जसमध्ये १ लाख २ हजार ७ सय ८९ महिला, १ लाख ८ हजार १ सय १४ पुरुष र २ जना तेस्रोलिंगी रहेका छन् । यसअघि, ९ फागुन ०७३ को तथ्यांक अनुसार इलाममा नाम दर्ता गर्ने १ लाख ९३ हजार ३ सय ४ थियो । जसमध्ये गत १४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १ लाख ८९ हजार २ सय ७४ जना मतदाता रहेका थिए । १० स्थानीय तहमध्ये इलाममा ३ नगरपालिका र ६ गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनका लागि प्राविधिकसहितको टोली विभिन्न ठाउँमा खटेर नामावली संकलन गरेको थियो । इलाम नगरपालिकाका लागि भने जिल्ला निर्वाचन कार्यालयमा नै नाम दर्ता गर्ने व्यवस्था गरिएको थियो ।
कार्यक्रममा सबै स्थानीय तहमा सर्वसाधारणले उत्साहपूर्ण सहभागिता जनाएका थिए । यसअघि, मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका थिए । नाम दर्ता गराउने मध्ये धेरैजसो बिदेसिएका युवाहरू थिए ।
निर्वाचन आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अध्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो । नामावली अध्यावधिक कार्यक्रमले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ । १६ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता गराउन पाउने भए पनि मताधिकार भने १८ वर्षदेखि मात्र हुनेछ ।