चुलाचुलीमा बाढीले करोडौंको क्षति

वर्षसँगै आएको पहिरोले पुरेको चुलाचुली गाउँपालिका १ स्थित सागर आधारभूत विद्यालयको भवन ।

चेतन आङथुपो

चुलाचुली : लगातारको वर्षा र बाढीले दक्षिणी इलामको चुलाचुलीमा मात्र करोडौंको क्षति भएको छ । चुलाचुलीको विभिन्न वडाहरुमा स्थानीय खहरे र खोलाको कटानले करोडौंको क्षति पुर्याएको हो ।

निरन्तरको वर्षाका कारण आएको बाढी र पहिरोका कारण चुलाचुलीमा दर्जनौं परिवार विस्थापित छन् ।

चुलाचुली ६ स्थित साकफारामा मावाखोलाको बाढीले डेड विगा जग्गा कटान गरेको छ । बाढीका कारण स्थानीय रामकुमार राई, मैयावती लिम्बू, सनी राई, दिलबहादुर शेर्मा, नीरबहादुर राई, सन्तबहादुर लिम्बू र गोपाल राई विस्थापित भएका छन् ।

त्यस्तै चुलाचुली ३ मा अनुप याङ्मा राईको घर चाँजु खोलाले बगाएको छ । ३ र ४ मा पर्ने चाँजु खोलाको झोलुङ्गे पुल बगाएको छ । मेची पहाडमा उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने काबेली करिडोरको चुलाचुलीस्थित १७ नम्बर टावर बाढीका कारण क्षतिग्रस्त छ । आसपासका ११ घरहरु बाढीको जोखिममा छन् ।

त्यसैगरी चुलाचुली १ को सागर आधारभूत विद्यालयको भवन पहिरोले पुरेको छ । स्थानीय कमल खोलाले जमिन कटान गरेर बाढी सहित पहिरो जाँदा विद्यालय भवन पुरिएको वडा वडाध्यक्ष पूर्णचन्द्र लावतीले जानकारी दिए । कक्षा ४ सम्म पठनपाठन भइरहेको विद्यालयका दुईमध्ये अर्काे भवन पनि पहिरोको जोखिममा छ । भवन पहिरोले पुरेपछि एउटा मात्रै भवनमा पठनपाठन गराउन समस्या भएको उनले बताए ।

‘कमल खोलामा बाढी आइरहेकाले अर्काे पनि भवन कुनबेला पहिरोमा पर्ने हो टुंगो छैन, वडा अध्यक्ष लावतीले भने, ‘बाढी निरन्तर आइरहे विद्यालय मात्र होइन यहाँका २५ घरपरिवार विस्थापित हुनुपर्ने अवस्था छन् ।’ खोलामा तटबन्ध निर्माणका लागि सम्बन्धित ठाउँमा सहयोग मागेपनि नपाएकाले विद्यालयमा क्षति भएको र बस्तीसमेत जोखिममा परेको उनको भनाई छ ।

चुलाचुली ४ स्थित विधुवा खोलाले कटान गरेको बाटो र वस्ती ।

चुलाचुली ४ स्थित विधुवा खोलाले दयाचोक उत्तर र जोगी टोल दक्षिण बीचमा दुई सय मिटर ग्राबेल बाटोसहित पश्चिम ५० मिटरमा ५ कठ्ठा खेतीयोग्य जमिन कटान गरेको छ ।

सोही वडामा विधुवा र तिरतिरे खोलाले उत्तरभाग कटान गर्दै लगेपछि किराँत हाङमिङ मन्दिर, जागृति चर्च, चुरेमार्ग जोखिममा परेको छ । त्यस्तै शान्तिमार्गमा रहेको त्रिवेणी र संगम चोक बीचमा रहेको संगम होली कल्भर्ट, आदिवासी जनजाति निमार्णस्थल जाने कल्भर्ट, झापा लखनपुर र चुलाचुली सिमाना फारलाईन कल्भर्टमा क्षति पुगेको वडा अध्यक्ष कालीप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै चुलाचुली ५ मा लोकबहादुर राईलगायत आधा दर्जन घर विधुवा खोलाको जोखिममा छ । प्रहरी, जनप्रतिनिधि, रेडक्रसलगायत विभिन्न सरोकार निकायले उद्धार जारी राखेको जनाएका छन् ।

निरन्तरको वर्षा र बाढीले मानवीय क्षति नगरेपनि विकास निर्माणको कार्यमा बढी क्षति भएको चुलाचुली गाउँपालिकाका कार्यकारी अधिकृत छविलाल खतिवडाले जानकारी दिए । त्यहाँका अधिकांश कच्ची सडक क्षतिग्रस्त छन् । चुलाचुली बाढी र कटानको उच्च जोखिममा पर्ने क्षेत्र हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार