नयाँ बुलन्द
इलाम : लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानले पूर्वका सबै जिल्लामा विद्युत् आपूर्ति ठप्प भएको छ ।
विद्युत् आपूर्ति बन्द भएपछि पूर्वका सबै जिल्ला अन्धकारमा छन् । ठाउँठाउँका विद्युत् सबस्टेसन पानीमा डुबेपछि मध्यमाञ्चलका पनि अधिकांश जिल्लामा विद्युत् आपूर्तिमा समस्या भएको विद्युत् प्राधिकरणले प्राधिकरणले जनाएको छ । बाढीका कारण झापास्थित १ सय ३२ केभी लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं. १७ ढलेको छ ।
हेटौँडा सबस्टेसन अन्तर्गतको हेटौँडा सिमेन्ट नजिक ६६ केभीको टावर पल्टिन लागेकाले औद्योगिक फिडर सर्किट नम्बर १ र २ बन्द गरिएकोे छ । सुनसरीको दुहबी सबस्टेसन, दमक सबस्टेसन र अनारमनी सबस्टेसन जलमग्न भएको हुँदा २७ गते बिहानबाट बन्द गरिएको छ । चन्द्रनिगाहपुरको १ सय ३२ केभी सर्किट नम्बर २ पनि २७ गते रातीदेखि सञ्चालनमा छैन ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती सबस्टेसनमा बाढी पसेपछि बन्द गर्नुपरेको हो । सबस्टेसनमा समस्या भएपछि भारतबाट ल्याइएको बिजुलीमा पनि कमी आएको छ । धेरै सबस्टेसन तथा फिडर बन्द भएपछि देशभित्रका विद्युत् गृहको क्षमताभन्दा निकै कम उत्पादन भइरहेको छ । १ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ बाट १ सय मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट २५ मेगावाट र ६९ मेगावाटको मस्र्याङ्दीबाट ३२ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । बालाजु त्रिशूली ६६ केभी सर्किट ट्रिपिङ भएकाले चिलिमेबाट ७, त्रिशुलीबाट र देवीघाटबाट ५ मेगावाट मात्र उत्पादन भइरहेको छ । साथै गण्डक पावरहाउस बाढीको कारणले आइतबार बिहानदेखि बन्द रहेको प्राधिकरणको भनाइ छ ।
यस्तै सुर्खेत र दैलेखको विद्युत् सेवा शनिबार रातीदेखि अवरुद्ध भएको छ । सुर्खेत–कोहलपुर प्रसारण लाइनको बीचमा वर्षाले तार र खम्बामा क्षति पु¥याउँदा विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण, सुर्खेत वितरण केन्द्रका सुपरभाइजर विजेश रञ्जितका अनुसार विद्युत् सेवा कुन ठाउँमा अवरुद्ध भएको भन्ने पत्ता लाग्न सकेको छैन् । चेपाङस्थित बबई नदीमा आएको बाढीले बिजुलीको खम्बा बगाएको हुनसक्ने अनुमान गरिएको छ ।
लगातारको वर्षापछि आएको बाढी पहिराले आइतबार देशभरको टेलिफोन सेवा प्रभावित भएको छ । सरकारी तथा निजी सेवा प्रदायक कम्पनीको फोन र एसएमएस सेवा प्रभावित भएको हो । मोबाइल तथा ल्यान्डलाइन फोन नलाग्ने, लागे पनि आवाज नसुन्ने, एसएमएस पनि नजाने लगायतका समस्या देखिएका छन् । बाढी पहिराले बिटिएस टावर र विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिफोन सेवा प्रभावित भएको नेपाल टेलिकमले जनाएको छ ।