निरन्तरको वर्षाले जनजीवन अस्तव्यस्त

Kankai

झापा : ३ दिनदेखि लगातार भएको वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ । लगातारको वर्षापछि जिल्लाका नदीनालामा पानीको सतह बढेर पुलपुलेसा र बाँध बगाउँदा त्यसक्षेत्रको जनजीवन अस्तव्यस्त बनेको हो ।  दक्षिण झापाको शिवसताक्षी गौरीगञ्ज र तल्लो कमल गाउँपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका ठूला नदीहरू मावा, रतुवा, कन्काई, टाङटिङ, विरिङ, निन्दा र मेची नदीमा पानीको सतह बढेको छ । यस्तै देउनिया, अन्धुवा, घागरा, दुधे, झिलझिले, कमल, भालुखोला, झरना लगायतका साना खोलामा पनि पानीको सतह बढेकोे छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कन्काई नदीको बहाव ४ मिटरभन्दा धेरै रहेको बताइएको छ ।

केन्द्रका अनुसार पानीको बहाव ३ दशमलव ७ मिटर नाघ्नु चेतावनीको संकेत हो । ४ दशमलव २ मिटर नाघेपछि नदीले क्षति पु¥याउने खतरा बढी हुने केन्द्रले जनाएको छ । यता, कमल खोलामा आएको बाढीले गौरीगञ्ज–१ स्थित बालुबाडी बस्ती डुबानमा परेको छ । बढीले डुबानमा परेपछि पीडितलाई स्थानीय प्रहरी र स्थानीयवासीको सक्रियतामा सुरक्षित स्थानमा सारिएको छ । यस्तै गौरीगञ्ज–१ र शिवसताक्षी–४ को सिमानामा पर्ने रंगियाथान बजार आसपासका घरहरू कन्काई नदीको कटानले खतरामा पारेका छन् । कन्काई नदीको कटान रोक्न जनताको तटबन्ध कार्यालय गैडे माइधारले गत आर्थिक वर्षमा बाँधेको कच्ची बाँध कन्काई नदीले भत्काउन सुरु गरेको छ ।

यस्तै, कन्काई नदीको बाढीले झापा गाउँपालिका–७ स्थित सानो माइखोलाको पुल नाघेको छ । त्यहाँको बस्ती जलमग्न भएका कारण स्थानीय विद्यार्थीहरू शुक्रबार विद्यालय जानसमेत नसकेको स्थानीयले बताएका छन् । वर्षाका कारण शिवसताक्षी नगरपालिका–४ को एउटा गाउँ डुबानमा परेको छ । बनियानि र कमल खोलाको भंगालो गाउँमा पसेपछि डुबानमा परेको स्थानीयवासीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार