बर्सेनि दूध उत्पादन बढ्दै

डेरीमा घ्यू–छुर्पीका लागि दूध उमाल्दै इलामका एक व्यवसायी । फाइल तस्विर

राम याेङहाङ

इलाम : अघिल्लो वर्षको तुलनामा इलाममा आर्थिक वर्ष ०७३/७४ मा १ दशमलव ८ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको छ । गाई, भैँसी र चौँरीको गरी १ लाख २३ हजार ७ सय ४० मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । यो अघिल्लो आव तुलनामा २ हजार १ सय ७८ मेट्रिक टन अर्थात १ दशमलव ८ प्रतिशत बढी हो । अघिल्लो आव ०७२/७३ मा १ लाख २१ हजार ५ सय ६२ मेट्रिक टन दूध उत्पादन भएको थियो ।

व्यावसायिक गाईपालनमा वृद्धि भएस“गै ५ वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको पाएको छ । आव ०७१/७२ मा १ लाख २१ हजार ५ सय ४३, आव ०७०/७१ मा १ लाख १६ हजार ८६ र आव ०६९/७० मा १ लाख १० हजार ८ सय १६ मेट्रिक टन दूध उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । पशुपालन व्यवसायमा किसानको संख्या बढ्नुका साथै कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार र उन्नत जातका घा“स खेतीले दूध उत्पादनमा वृद्धि भएको पशुसेवा कार्यालयले जनाएको छ । व्यावसायिक पशुपालनमा देशमै नमुना मानिएको इलाममा उत्पादित दुग्धजन्य पदार्थ बिक्रीबाट करोडौँको आम्दानी भएको छ । यहा“ उत्पादित दूधबाट किसानले गतवर्ष ४ अर्ब ७० करोड ६१ लाख रूपैयाँ आर्जन गर्न सफल भएका छन् ।

यहा“ उत्पादित दूधमध्ये दैनिक ३६ हजार लिटर विराटनगरस्थित दुग्ध वितरण संस्थानमा निर्यात हु“दै आएको हु“दै आएको कार्यालयका पशु सेवा प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिए । त्यस्तै निजी स्तरबाट दैनिक २० हजार लिटर दूध डेरी उद्योग इटहरी निर्यात हुने गरेको कार्यालयले जनाएको छ । जिल्लाका ५५ हजार बढी किसानले व्यावसायिक गाईपालन गर्दै आएका छन् । त्यसका लागि टिओसेन्टी, जै, सुडान, बर्सिम, भेज, नेपियर, सिटेरिया जातका उन्नत घा“स लगाइएको छ । उनीहरूले दैनिक ५ देखि ४० लिटरसम्म दूध बिक्री गर्दै आएका छन् । इलाममा दूध सरदर ३८ रूपैया“ प्रतिलिटरले बिक्री हुने गरेको छ ।

दुग्ध विकास संस्थान विराटनगरले दूध संकलनका लागि इलाम नगरपालिकको बिब्ल्याँटे र पुवाखोला, देउमाइ नगरपालिकाको शान्तिडा“डा, सूर्योदय नगरपालिकाको लक्ष्मीपुर र फिक्कल तथा रोङ गाउँपालिकाको कुट्टीडा“डामा १६ दुग्ध चिस्यान केन्द्र स्थापना गरेको छ । विभिन्न दुग्ध सहकारीमार्फत ती केन्द्रहरूमा दूध संकलन भएर विराटनगर निकासी गरिन्छ । यातायातको पहुँच नपुगेको ठाउँमा भने उत्पादन भएको दूधले बजार पाउन सकेको छैन । त्यस्ता क्षेत्रमा खुलिएका निजी तथा सहकारी कारखाना, ललीपप उद्योग र निजीस्तरका डेरीले किसानले उत्पादन गरेको दूध खपत गर्दै आएका छन् ।

इलाममा हालसम्म १ सय वटा छुर्पी उद्योग, ९ ललीपप, चीज २४, एक आइस्क्रिम र २ डेरी उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट १ वर्षमा ८५ करोड रूपैयाँभन्दा बढीको दूधजन्य परिकारको कारोबार भएको छ । चिज, घ्यू, छुर्पी, ललीपप र पनिर गरी वार्षिक १७ लाख १३ हजार ५ सय किलो दूधजन्य परिकारको उत्पादन हुन्छ । सरदर ५ सय रूपैयाँको दरले ८५ करोड ६७ लाख ५० हजार बराबरको दूधजन्य परिकारको कारोबार हुने गरेको कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार