एमालेको प्रतिष्पर्धी नै छैन : ओली

नयाँ बुलन्द

इलाम :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न सक्ने नेपालमा कुनै शक्ति नभएको दावी गरेका छन् । अध्यक्ष ओलीले अन्य पार्टीसँग स्पष्ट नीति तथा कार्यक्रम नभएकाले एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभएको जिकिर गरे ।

एमाले १ नम्बर प्रदेश कमिटीले इलाममा आयोजना गरेको पार्टीको तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘अन्य दलसँग स्पष्ट धारणा नै छैन । उनीहरु झुटको खेती गरी जनतालाई अल्मल्याने बाहेकको नितिगत प्रतिस्पर्धा गर्ने क्षमता छैन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नीतिगत प्रतिस्पर्धा गर्न नसकेपछि प्रतिपक्षीले एमालेले ल्याएका एजेण्डाहरुको गलत प्रचार गर्दै जनतालाई अलमलमा पार्ने भन्दै निर्वाचित जनप्रतिनिधीलाई संयमित रहन आग्रह गरे ।

अध्यक्ष ओलीले मधेशी नेताको कारण नै मधेशी समुदाय पछि परेको उल्लेख गरे । मधेशी नेता उल्टो बाटो हिँडीरहेको आरोप लगाउँदै ओलीले संविधानले सबैलाई समान अधिकार दिएको जिकिर गरे । ‘संविधानले मधेश र पहाडलाई कुनै विभेद गरेको छैन । मधेश भौगोलिक रुपमा सहज भएपनि सामाजिक पछ्यौटेपनका कारण अन्धकारमा छ ।’ उनले भने ।

उनले २ असोजमा हुने २ नम्बर प्रदेशको स्थानीय निर्वाचनमा समेत एमाले पहिलो शक्ति हुने दावी गरे । एमाले प्रतिको जनलहर बढेको उल्लेख गर्दै ओलीले एमाले जनप्रतिनिधिले मात्र मधेशको साक्षरतादर र महिला हिसां अन्त्य गरी मधेशको मुहार फेर्न सक्ने बताए । उनले निर्वाचनमा जाहेर गरेका प्रतिवद्धता पूरा गर्न जनविचारको कदर गर्दै विकासमा अघि बढ्न निर्वाचित जनप्रतिनिधीलाई निर्देशन समेत दिए ।

फरक प्रसंगमा अध्यक्ष ओलीले संसदीय निर्वाचनपछि एमालेको नेतृत्वमा नेपालमा पानी जहाज र रेल कुदाएर देखाउने दावी गरे । मंगोलिया र स्विजरल्यान्ड जस्ता भुपरिवेष्ठित देशले समेत प्रशान्त महासागरमा जहाज कुदाएको उल्लेख गर्दै ओलीले एमालेको नेतृत्वमा नेपालले पानी जहाज र रेल कुदाएरै छाड्ने उद्घोष गरे ।

बुधबारसम्म सञ्चालन हुने अभिमुखीकरणमा पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, शेरधन राई लगायतले प्रशिक्षण दिँदैछन् । कार्यक्रममा एमालेबाट निर्वाचित १ नम्बर प्रदेशका तीन सय बढी जनप्रतिनिधीहरुको सहभागीता रहेको नेकपा एमाले इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार