इलाममा गाईजात्रा मनाइयो

दिवंगत भएका आफन्तहरको सम्झना तथा मन शान्तिका लागि मंगलबार इलाममा मनाईएको गाईजात्रा । तस्विर साैजन्य : सुदिप श्रेष्ठ

नयाँ बुलन्द

इलाम : दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाईने ‘गाईजात्रा’ पर्व मंगलबार इलाममा धुमधामका साथ मनाईएको छ ।

पुरुषलाई महिलाको पहिरन लगाइदिएर गाईका रुपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन अनुरुप इलाममा पनि गाइजात्रा मनाईएको हो । माईस्थान मन्दिरबाट निकालिएको जात्रा नगर परिक्रमा गराई नारायणस्थान मन्दिरमा लगेर समापन गरिएको थियो ।

इलाम नगरक्षेत्रका यस वर्षभित्र मृत्यु भएका ११ घर परिवारबाट जात्रा निकालिएको थियो । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजना भएको जात्रामा नेवार समुदायका परिवारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

हिन्दुधर्म अनुसार गाईजात्रा पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरेको पाइन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरुले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ ।

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि जारी छ । यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरुप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’ का करुण रसका गीतहरु पनि गाइन्छन् ।

तत्कालिन व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै १ पुस २०१७ मा ‘शाही कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लगाईएको इतिहास छ । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने गर्दछ ।

गाईजात्रा पर्व इलामसहित काठमाडौं उपत्यकाका ३ वटौ जिल्ला, बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइने प्रचलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार