राम याेङहाङ
इलाम : जिल्ला प्रहरी कार्यालय इलामको तथ्यांकले आर्थिक वर्ष ०७३/७४ मा आपराधिक घटना बढेको देखाएको छ । प्रहरीको त्रिवर्षीय मुद्दाको विश्लेषण हेर्दा अघिल्लो वर्षहरूको तुलनामा आपराधिक घटनामा ह्वात्तै बढेको देखिन्छ । प्रहरीको विवरणअनुसार आव ०७३/७४ मा ३ सय ७७ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आवमा २ सय १७ वटा र सोभन्दा अघिल्लो आवमा १ सय ९७ वटा मुद्दा दर्ता भएका थिए ।
तुलनात्मक रूपमा हेर्दा मुद्दाको संख्यामा बर्सेनि उल्लेख्य वृद्धि भएको पाइएको छ । नागरिकहरूमा उजुरी गर्नुपर्छ भन्ने चेतना वृद्धि भएकाले मुद्दा दर्तामा वृद्धि भएको प्रहरीको भनाइ छ ।
जबरजस्ती करणीका घटनामा तेब्बर वृद्धि भएको छ । आव ०७३/७४ मा ३४ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । अघिल्लो आवमा ११ वटा जबरजस्ती करणीका घटना भएका थिए । सोभन्दा अघिल्लो आवमा भने ३० वटा घटना भएका थिए । करणी उद्योगमा पनि उस्तै छ । करणी उद्योगका ११ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आवमा ४ र सोभन्दा अघिल्लो आवमा ५ वटा करणी उद्योगका घटना भएका थिए ।
हत्या र बहुविवाहका घटनामा भने कमी नआए पनि वृद्धि नभएको पाइएको छ । यस वर्ष र अघिल्लो वर्ष ५/५ वटा हत्याका घटना भएका थिए । त्यसैगरी बहुविवाहका घटना पनि यसवर्ष र अघिल्लो वर्ष १०÷१० वटा भएका थिए । सो भन्दो अघिल्लो वर्ष भने १४ वटा भएको थियो । ज्यान मार्ने उद्योगका घटनामा ह्वात्तै बढेको छ । आव ०७३/७४ मा १० वटा यस्ता घटना भएका छन् । अघिल्लो आवमा एउटा मात्र घटना भएको थियो ।
सो भन्दा अघिल्लो आवमा भने ५ वटा ज्यान मार्ने उद्योगका घटना भएका थिए । आव ०७३/७४ मा ५६ वटा भवितव्य ज्यान गएको छ । यो ४३ बाट बढेर ५६ पुगेको हो । अघिल्लो वर्ष ४३ र सोभन्दा अघिल्लो वर्ष ३४ वटा भवितव्य ज्यान गएको थियो । फुटकर ज्यानमा एक मात्र घटना भएको छ । आत्महत्याका घटना १ सय ८ वटा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष ६० र त्यो भन्दो अघिल्लो वर्ष १ सय ३ जनाले आत्महत्या गरेका थिए ।
सार्वजनिक अपराधका घटना ९९ वटा भएका छन् । अघिल्लो वर्ष ५४ वटा र सोभन्दा अघिल्लो वर्ष ६० वटा सार्वजनिक अपराधका घटना भएका थिए । लागुऔषधसम्बन्धी अपराधका घटना आव ०७३/७४ मा ९ वटा भएका छन् । अघिल्लो आवमा यससम्बन्धी घटनाको एउटा मात्र मुद्दा दर्ता भएको थियो । चोरीका १५ वटा घटना भएका छन् । अघिल्लो आवमा ८ वटा चोरीका घटना भएका थिए । ठगी र मानव बेचबिखनसम्बन्धीका घटनामा भने कमी आएको छ । आव ०७३÷७४ मा ठगीका घटना ३ वटा भएका छन् । अघिल्लो वर्ष ४ वटा भएको थियो । त्यस्तै मानव बेचबिखनसम्बन्धी २ वटा मात्र यससम्बन्धी मुद्दा दर्ता भयो । अघिल्लो र सोभन्दा अघिल्लो वर्ष यससम्बन्धी ३/३ वटा मुद्दा दर्ता भएका थिए ।
सवारी ज्यानसम्बन्धी १० वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आवमा २ र सोभन्दा अघिल्लो आवमा ४ वटा सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएका थिए । यसवर्ष ठूला प्रकृतिका अनुसन्धान गर्नुपर्ने प्रकृतिका घटना भने भएनन् । अत्याधिक मादकपदार्थ सेवनका कारण यस्ता आपराधिक घटनाहरू हुने गरेको प्रहरीको भनाइ छ ।