समस्यै समस्याबीच जेलियो चुलाचुली

‘एक गाग्रो पानी लिन अझै पनि आधा घण्टा हिंड्नुपर्छ’

अर्जुन राजवंशी

दमक : विकास निर्माणमा पछि परेको इलामको चुलाचुली गाउँपालिका अझै तंग्रिन सकेको छैन । चुरे क्षेत्रको सुगम गाउँपालिका भए पनि स्थानीयवासी समस्यै समस्यामा छन् । सुगम जिल्ला झापा र मोरङको सीमावर्ती उक्त गाउँपालिकावासी दुर्गम पहाडी क्षेत्रको झैं जीवन जिउन बाध्य छन् ।

पूर्वपश्चिम राजमार्गदेखि ८ किलोमिटर दूरीमा रहेको उक्त गाउँपालिकामा खानेपानी, विद्युत्, मोटर बाटो, सञ्चार, खेतीका लागि सिँचाइ र खोलामा पुल केही छैन । ‘एक गाग्रो पानी लिन अझै पनि आधा घण्टा हिंड्नुपर्छ,’ चुलाचुली ५ की अम्बिका भण्डारीले भनिन्, ‘बस्नलाई ठाउँ त ठीकै हो । तर, समस्या जति सबै यही रहेछन् ।’

उनले बस्नका लागि वातावरणीय हिसाबबाहेक अन्य सबै कुरामा दु:ख रहेको सुनाइन् । ०५३ मा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा साविकको चुलाचुली गाविसमा नाङ्गे खानीपानी आयोजना सञ्चालनमा ल्याइएको थियो । त्यसबेला ४० स्थानमा धारा जडान गरेको गरियो । तर, त्यसपछि मर्मत सम्भारको काम हुुन नसक्दा अहिले १५ वटा धारा मात्रै सञ्चालित छन् । अन्यबाट पानी झर्दैन ।

चालु अवस्थाका धाराबाट पनि लेदो र धमिलो पानी आउने गरेको स्थानीयले बताए । वार्ड नं. ४ का मनबहादुर राईले ७२ हजार खर्चेर एउटा ट्युबवेल गाडेका छन् । वडाका ३० परिवारले यसैबाट पानी प्रयोग गर्न पाएका छन् ।

जिल्ला इलाम भए पनि नुनदेखि सुनसम्म झापा र मोरङकै लानुपर्छ । ज्याला मजदुरी गर्न पनि दमक, केर्खा, उर्लाबारी झर्नुपर्ने बाध्यता छ । ‘दमक नपुगी धरै छैन । यता केही पाइँदैन,’ मनबहादुर राईले भने । चुलाचुलीका सबैलाई दमक झर्नुपर्ने बाध्यता भए पनि दुई जिल्लाको सिमाना भएर बग्ने रतुवा खोलामा पुल छैन ।

‘के गर्नु दमक नझरी कामै हुँदैन । आवतजावत गर्नलाई भने रतुवा खोलामा पुल छैन,’ राईले भने, ‘व्यक्तिगतबाहेक सवारीको व्यवस्था छैन । हामी अहिलेसम्म यस्तै कष्टपूर्ण जीवन बाचिरहेका छौं ।’ चुलाचुलीमा सानाठूला गरी करिब एक दर्जन खोला छन् । तर, कुनैमा पनि पुल छैन ।

यही कारण वर्षौंदेखि चुलाचुलीवासीको यात्रा कष्टकर र जोखिमपूर्ण बनेको छ । बल्लतल्ल चाँजु खोलामा गत वैशाख अन्तिम साता एउटा झोलुंगेपुल बनेको थियो । त्यो पुल पनि उद्घाटन नहुँदै भत्कियो । उक्त पुल खोलाको दुवैतर्फको किनार छाडेर बीचमा बनेकाले स्थानीयलाई आवतजावतमा लाभदायक बन्न सकेको छैन ।

एक/दुई गाउँबाहेक कतै विद्युत् सेवा छैन । खर्च जुटाउन सक्नेले सोलार राखेका छन् । नसक्ने टुकीकै भरमा छन् । वडा ४ का २२ परिवारले भने आफ्नै खर्चमा झापाबाट विद्युत् लगेर बालेका छन् । खेती पनि आकासेपानीकै भरमा छ । यसपालि पर्याप्त पानी नपर्दा गाउँपालिकाको आधाभन्दा बढी जमिन
बाँझै छ ।

खेत रोप्न राखेको बीउ वस्तुलाई खुवाउनुपरेको गोविन्द भट्टराईले बताए । उनले भने, ‘विद्युत् छैन, सिँचाइ सुविधा पनि छैन । त्यसमाथि यस वर्ष पानी नपरेकाले खेती गर्न सकिएन ।’

गाउँपालिकामा २/४ वटा बाहेक सबै बाटा गाउँले आफैंले बनाएका हुन् । ‘बाटो नभए कसरी हिँडडुल गर्नु ?’ स्थानीय चेतन आंथुपोले भने, ‘सरकारको आस गरेर भएन । अधिकांश बाटो हामीले पैसा र श्रमदान जुटाएर बनायौं ।’ अझै पनि केही बस्ती पुग्न बाटो नभएको उनले बताए । बाटो र पुल नहुँदा बिरामी र गर्भवतीलाई अस्पताल पुर्‍याउन कठिन हुने गरेको स्थानीय चन्द्रकला केरुङले बताइन् ।

गाउँपालिकाभित्र समस्यैसमस्या रहेकाले जनप्रतिनिधिलाई पनि काम गर्न समस्या छ । गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले सबै क्षेत्रमा समस्या रहेकाले कहाँबाट कुन कामलाई प्राथमिकीकरण गर्ने भन्ने अन्योल रहेको बताए । ‘समस्या नभएका कुनै क्षेत्र छैन । समस्या पनि सबै जटिल खालका छन्,’ उनले भने, ‘यसैले आगामी गाउँसभामा पेस गर्ने गरी अहिले हामी समस्यालाई प्राथमिकीकरण गरिरहेका छौं । ताकि जनतालाई आवश्यक काम पहिला गर्न सकियोस् ।’

गाविस पूर्वअध्यक्ष ओमनारायण खनालले अव्यवस्थित बसोबास व्यवस्थापनमा ढिलाइ हुँदा चुलाचुलीमा विकास निर्माण शून्यजस्तै बनेको बताए । उनका अनुसार चुलाचुली क्षेत्रको अव्यवस्थित बसोबास व्यवस्थापन आयोगले ०६६ फागुनमा एक हजार ५० जनालाई जग्गाधनी पुर्जा वितरण गरेपछि बसोबास बाक्लिँदै गएको हो । आजकाे कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार