इलामका राई जनप्रतिनिधि सम्मानित

स्थानीय तहको निर्वाचनमा निर्वाचित राई जनप्रतिनिधिहरु ।

नयाँ बुलन्द

इलाम : किरात राई यायोख्याले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका राई जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

राई जातिको साझा सामाजिक सस्था यायोख्याको ३० औं स्थापना दिवासको अवसरमा विभिन्न पदमा निर्वाचित ८२ जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । स्थानीय तहमा निर्वाचित एक नगर प्रमुख, एक उपप्रमुख, चार गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहित वडा अध्यक्ष र सदसस्यहरुलाई सम्मान गरेको हो ।

जनप्रतिनिधिहरुलाई किरात राई यायोख्याका केन्द्रीय सदस्य कृष्णकुमार खालिङ राईले अविर जात्रा गर्दै खादा ओढाएर सम्मान गरे । साथै सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा अधिकाशं प्रतिनिधिहरुले स्थानीय तह समावेशी बनाउँदै सबै उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

साथै सोही कार्यक्रमको अवसरमा गत वर्षको एसईई परिक्षमा उत्कृष्ठ एक छात्रा र एक छात्रलाई समेत सम्मान गरिएको किरात राई यायोख्या इलामका अध्यक्ष चित्रबहादुर राईले जानकारी दिए । साथै स्थापना दिवसकै अवसरमा शसभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

यता लिम्बू विद्यार्थी मञ्च इलामले लालमोहर सन्धीको स्मृतिमा स्थानीय तहको निर्वाचनबाट निर्वाचित लिम्बू विद्यार्थी मञ्चका दुई जना पूर्व पदाधिकारीलाई सम्मान गरेको छ ।

लिम्बू विद्यार्थी मञ्च महेन्द्र रत्न बहुमुखी क्याम्पस समिति इलामका सल्लाहकार डिकेन्द्र इधिङ्गो र निवर्तमान केन्द्रीय सदस्य हेमराज लिम्बूलाई सम्मान गरेको हो । स्थानीय निर्वाचनमा इधिङगो माङसेबुङ गाउँपालिकाको अध्यक्षमा र लिम्बू इलाम नगरपालिका ८ बाट वडा सदस्यमा निर्वाचित भएका छन् ।

१८३१ साउन २२ मा तत्कालिन लिम्बुवान र गोर्खा राज्यबीच भएको नुनपानी सन्धीलाई स्मरण गर्दै लिम्बू विद्यार्थी मञ्चले कार्यपत्र प्रस्तुत, साहित्य वाचन र प्रतिनीधि सम्मान गरेको हो । कार्यक्रममा कवि तथा साहित्यकार उपेन्द्र सुब्बा, कवि विमल वैद्य, बसन्त थाम्सुहाङ लगायत दुई दर्जन स्थानीय श्रष्टाहरुले साहित्य वाचन गरेका थिए ।

साथै कार्यक्रममा लिम्बू विद्यार्थी मञ्चका निवर्तमान अध्यक्ष आङबुहाङ अवोध अविरलले ‘१८३१ को गोर्खा लिम्बुवान लालमोहर सन्धी र लिम्बुवान आन्दोलन’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि साहित्यकार जितेन पन्धाकले टिप्पणी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार