राम योङहाङ
इलाम : असार १४ गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भएको १ महिना नाघिसकेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ मा निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।
तर अहिलेसम्म इलामका धेरै दलका उम्मेद्वारहरुले निर्वाचनमा गरेको खर्चको विवरण पेस गरेका छैनन् । सरकारमा भएको पार्टी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै ठाउँ जितेको नेकपा एमालेका धेरै उम्मेद्वारले नै निर्वाचन खर्च विवरण बुझाएका छै नन् ।
स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिएका एक हजार पाँच सय ९२ मध्ये हालसम्म तीन सय ८१ जनाले मात्र निर्वाचन खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । विवरण पेश गर्ने म्याद सकिन ५ दिन मात्र रहँदा हजार दुई सय ११ उम्मेद्वारले अझै खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नेपाली कांग्रेसका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य सहित ४१६ उम्मेद्वारमध्ये १७१ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् । त्यस्तै नेकपा एमालेका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य सहित ४२१ उम्मेद्वारमध्ये ९९, माओवादी केन्द्रका ३५४ उम्मेद्वारमध्ये १८ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका ८३ उम्मेद्वारमध्ये ६ जनाले मात्र खर्च विवरण बुझाएको कार्यालयका नायब सुव्वा खेम राईले बताए ।
त्यस्तै संघीय समाजवादी फोरम नेपालका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य सहित १६३ उम्मेद्वारमध्ये ८५, खम्बुवान राष्ट्रिय मोर्चाका ७ मध्ये १ र स्वतन्त्रका ८० मध्ये एक जनाले निर्वाचन खर्च बुझाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नयाँ शक्ति पार्टी नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीका कुनै उम्मेद्वारले खर्च विवरण बुझाएका छैनन् । मञ्चका ४६ तथा नयाँ शक्ति र जनमुक्तिका ११÷११ जना उम्मेद्वार थिए ।
निर्वाचनलाई अत्यन्तै खर्चिलो तथा महँगो निर्वाचनको रुपमा लिइएको छ । इलामका १० स्थानीय तहमा विभिन्न दल तथा स्वतन्त्र गरी एक हजार पाँच सय ९२ जनाले उम्मेद्वारी दिएका थिए । उनीहरुमध्ये एक जना निर्विरोध निर्वाचित भए । त्यसैगरी एक हजार ५२ जनाको मात्र धरौटी (जमानत) जोगिएको छ भने बाँकी ५३९ जना उम्मेद्वारको भने धरौटी नै जफत भएको थियो ।
खर्चको विवरण बुझाउने समय २५ साउनसम्म रहेकाले उम्मेद्वारले विवरण ल्याउने क्रम रहेको निर्वाचन अधिकृत प्रेम काफ्लेले बताए । स्थानीय तह निर्वाचन ऐन, ०७३ को दफा ६४ मा आयोगले तोकेको ढा“चामा मतपरिणाम सार्वजनिक भएको तीस दिनभित्र आयोगले तोकेको कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।
खर्च विवरण बुझाउनेलाई कानुनसम्मत जरिवाना हुने निर्वाचन अधिकृत काफ्लेले बताए । आयोगले नगरको मेयर र उपमेयरका लागि साढे ४ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि साढे ३ लाखसम्म खर्च सीमा तोकेको थियो । यस्तै नगरका वडाअध्यक्ष र सदस्यका लागि २ लाख र गाउँपालिका वडा अध्यक्ष र सदस्यकाले डेढ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न नपाउने सीमा तोकिएको थियो ।
निर्वाचनमा हुने अधिक खर्चलाई रोक्न पनि खर्चको सीमा आयोगले निर्धारण गरेको हो । तर पनि दल तथा दलका उम्मेद्वारहरुले चोर बाटोबाट खर्च गरिरहेका हुन्छन् । त्यसलाई रोक्न निर्वाचन आयोगले प्रभावकारी काम गर्न सकेको देखिँदैन । निर्वाचन आयोगले नै यो प्रक्रियालाई औपचारिकतामा मात्रै सीमित गरेको पाइन्छ ।
यसपटको निर्वाचनलाई अत्यन्तै खर्चिलो तथा महँगो निर्वाचनको रुपमा लिइएको छ । इलामका १० स्थानीय तहमा विभिन्न दल तथा स्वतन्त्र गरी एक हजार पाँच सय ९२ जनाले उम्मेद्वारी दिएका थिए । उनीहरुमध्ये एक जना निर्विरोध निर्वाचित भए । त्यसैगरी एक हजार ५२ जनाको मात्र धरौटी (जमानत) जोगिएको छ भने बाँकी ५३९ जना उम्मेद्वारको भने धरौटी नै जफत भएको थियो ।