नगर प्रमुखले रोके शिक्षक छनौटको परिक्षा

नयाँ बुलन्द

इलाम : इलामको एक विद्यालयमा रिक्त रहेको शिक्षकको पदपूर्तीका लागि तयार गरिएको परिक्षा नगरपालिका प्रमुखले स्थगन गराएका छन् ।

करफोक विद्यामन्दिर माध्यमिक विद्यालयको वाली विज्ञान विषयको शिक्षक छनौट परिक्षा आफूसँग नसोधी तय गरेको भन्दै सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले परिक्षा रोकेका हुन् । नगरपालिकाका प्रवक्ता पेमा ओगेन (भाइचुङ) ले नगरपालिका मार्फत शिक्षक नियुक्ति हुनुपर्ने भएपनि विद्यालयले समन्वय नगरेकाले परिक्षा रोक्नुपरेको बताए ।

शिक्षक छनौट रोकिएपछि तीन महिना देखि शिक्षक अभावको समस्या भोगिरहेका विद्यार्थी थप समस्यामा परेका छन् । शिक्षा विभागले पठाएको दुईवटा दरबन्दिमा शिक्षक नियुक्ति गर्ने अन्तिम अवस्थामा प्रमुखको आदेशमा परिक्षा रोक्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारी जानकारी दिए । ‘शिक्षक छनौट सम्बन्धी शिक्षा ऐन र नियमावलीका सबै व्यवस्थालाई पालन गरेर परिक्षा सञ्चालन गर्न लागेपनि प्रमुखको मौखिक आदेशमा परिक्षा रोकिएको छ’ अध्यक्ष अधिकारीले भने, ‘यो समग्र विद्यालयको लागि दुःखको कुरा हो ।’

नेपाल शिक्षक महासंघका अध्यक्ष तथा शिक्षक छनौट समितिका सदस्य पुर्ण गौतमले नगरपालिकाको तर्फबाट हस्तक्षेप भएपछि परिक्षा रोकिएको बताए । उनले अहिले प्रचलित शिक्षा ऐन क्रियाशील रहेको भन्दै संविधानको धाराको आफुखुशी व्याख्याले समस्या सिर्जना भएको बताए । ऐनका कुनै धारा निलम्बन नभएको अवस्थामा स्थानीय तहले आफ्नौ अधिकार क्षेत्र भन्ने अवस्था रहेको उनले बताए । विद्यालय निरिक्षक द्रोण पोख्रेलले परिक्षा गराउने वातावरण नगरेपछि परिक्षा स्थगित गर्नुपरको बताए ।

शिक्षा नियमावली २०५९, शिक्षा नियमावली (आठौं संशोधन) २०७१ को परिच्छिेद १७, धारा ९७ मा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक शैक्षिक सत्रको लागि कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्ने उल्लेख छ । यस विषयमा प्रमुख राईलाई टेलिफोन सम्पर्क गर्दा यसबारे आफूलाई जानकारी नभएको भन्दै वडा अध्यक्षलाई सोध्न आग्रह गरका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार